कालिकोट। नेकपा (एकीकृत समाजवादी) कालिकोट रास्कोट नगर कमिटीको आयोजनामा अगुवा कार्यकर्ता भेला प्रशिक्षण तथा सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ।
पार्टीका कालिकोट इन्चार्ज तथा केन्द्रीय सदस्य कुर्मराज शाहीको प्रमुख आतित्थ्यतामा बिहिबार उक्त कार्यक्रम सम्पन्न भएको हो। युवासंघका सचिवालय सदस्य तथा कालिकोट जिल्ला कमिटी सदस्य मेघराज शाहीका अनुसार कार्यक्रममा एमाले र नेकपा विप्लव पार्टीबाट १७५ जना स्थानीय नेता कार्यकर्ताहरु समाजवादी पार्टीमा प्रवेश गरेका छन्।
उनले भने, ‘कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। एमाले र नेकपाबाट १७५ जना स्थानीय नेता कार्यकर्ताहरु हाम्रो पार्टीमा प्रवेश गर्नु भएको छ। करिब ७ सयको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ।’
शाहीका अनुसार कार्यक्रममा पार्टीका सह-ईन्चाज तथा केन्द्रीय सदस्य तुलराज सिमखडा, प्रदेश कमिटी सदस्य मनिराज बराल, जिल्ला कमिटी अध्यक्ष विश्वराज बम, पार्टी सचिव चित्र सिंह गाउँले युवा संघ कालिकोटका अध्यक्ष गणेश शाही, अनेमसंघकी केन्द्रीय सदस्य तथा जिल्ला सचिवालय सदस्य कृष्णकला पाण्डे लगायतको उपस्थिति रहेको थियो।
पार्टी प्रवेश गर्नेहरुलाई उचित जिम्मेवारी दिने र समाजवादको यात्रामा एकसाथ अघि बढ्ने अध्यक्ष बमको भनाई छ। पार्टी प्रवेश गर्नेहरुले अबको विकल्प नै एकीकृत समाजवादी पार्टी भएकाले आफूहरुले उक्त पार्टीमा प्रवेश गरेको बताएका छन्।