जनताले समाजवादी पार्टीलाई किन अनुमोदन गर्ने ?



मानव जीवनसँग जोडिएका राजनीतिक पक्षहरुको क्रमबद्ध अध्ययन गर्ने शास्त्र नै राजनीतिशास्त्र हो। जसको क्रमबद्ध अध्ययन हुन्छ, तर्क र प्रयोगमा गुञ्जाइस हुन्छ, अनि ठोस अध्ययन विधि। त्यसैले यो सापेक्ष विज्ञान हो। राजनीति विज्ञानलाई सोपेक्ष सत्य विज्ञान मान्ने विश्व मान्यता हो। पुरानो बस्तुको अन्त्य र नयाँको निर्माण विज्ञानको नियम हो। यस स्तम्भमा नेकपा किन जन्मियो? के का लागि जन्मियो? यसले उठाएका सवालहरु के हुन्? यस पार्टीले नेपाली जनतालाई आह्वान गरेको नारा के हो?  यस्तै यस्तै प्रश्नका बारेमा जवाफ खोज्ने प्रयास रहनेछ।

विषय प्रवेश:

नेपालमा हाल राजनीतिक, नैतिक र संवैधानिक संटकहरु देखा परेका छन्। साथै आर्थिक र स्वास्थ्य क्षेत्र पनि संकटमुक्त भने छैन। यि संटकहरुको कारण खोज्दै जाँदा केही वर्ष अघिको याद गर्नुपर्ने हुन्छ। मुलुक एक गतिमा अघि बढिरहेको थियो। पाँच वर्षका लागि तत्कालिन नेकपालाई नेपाली जनताले दुई तिहाइ नजिककाे जनमत दिएका थिए। दुई तिहाइको सरकार र पार्टी थियो। ठिक त्यहि बेला भष्मासुर प्रवृत्ति देखापर्यो। अराजकता र स्वेच्छाचारिताले राज जमायो। लालगद्धारहरुको जन्म भयो। जनताका बैरीहरुले दुई तिहाइ नजिकको जनमत र पार्टीको विधिलाई लत्याएर वादशाह बन्ने सपना देखेपछि माथि उल्लेखित संटकहरु देखा परेका हुन् भन्दा अन्यथा हुँदैन।

क‍‍. माओले भनेझैं, ‘जनता इतिहासका निर्माता हुन्। जनताहरु पानि हुन् भने कम्युनिष्टहरु माछा।’ बहुमत जनमतलाई कुठाराघात गर्दै व्यक्तिवाद र गुटवादको चरम दलदलमा फसेर संसदमाथि प्रहार गर्ने काम असली कम्युनिष्ट पार्टीको नेताले गर्नै सक्दैन। कम्युनिजम पढेको र कम्युनिष्ट दृष्टिकोण भएको मान्छेले रामनाम जप्ने र जनमतकाे अपमान गर्ने काम गर्नै सक्दैन। असली कम्युनिष्ट को हुन्? असली राष्ट्रवादी को हो? नक्कली राष्ट्रवादी को हो? नक्कली कम्युनिष्ट को हुन्? दम्भी, घमण्डी को हुन्? जनताले चिनेका छन्।

अस्तित्वको रक्षमा पुगेको एमालेका केही नेताहरुले २१औं शताब्दिकाे प्रगतिशील र प्रविधिमा संलग्न नेपाली जनतालाई मुर्ख बनाउने काम गरिरहेका छन्। हावादारी कुराहरु गर्ने, कुतर्क गर्ने, आफू अवैध बन्न पुगेको भुलेर प्रगतिशील शक्तिका पक्षमा उभिएका क्रान्तिकारी जनतालाई तल्लो स्तरको सम्बोधन गर्ने काम एमालेका नेताहरुबाट भइरहेका छन्। यो हतास मनस्थितिको उपजबाहेक अरु केही होइन भन्ने कुरा पनि जनताले राम्ररी बुझेका छन्। लालगद्धार, प्रतिगमनकारी, संघीयता बिरोधी, परिवर्तन विरोधिहरुलाई विश्वका कुनै पनि मुलुकका जनताले रोजेका छैनन्। बरु, जनताहरु त्यस्ता पात्र र प्रवृत्तिको मलामी जान तयार भएका छन्। त्यसैमा नेपाली जनतासँग ठूलो संघर्ष र बलिदानको गौरवपूर्ण इतिहास जोडिएको छ। साना तिना भ्रमहरु, पूरा भइसकेका कार्यक्रम र एजेण्डाहरुमा प्रगतिशील जनताहरु भुल्ने छैनन्।

त्यसैले आगामी निर्वाचनमा प्रतिगामीहरुलाई, संसदका हत्याराहरुलाई, भष्टाचारीहरुलाई, कमिसनखोरहरुलाई, चोरहरुलाई, दलालहरुलाई, नेपाली जनताले धुलो चटाउने छन्। आज पनि प्रतिगमनकारीहरुले टाउको उठाउन खोजेको देखिन्छ। उनीहरुले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई सतही आरोप र भ्रमपूर्वक नारा दिएर बदनाम गर्ने काम गरिरहेका छन्। प्रतिक्रियावादीहरुले भ्रमको खेती गरेर पुनः जनतालाई झुटको पुलिन्दा बनाउने कुचेष्टा गरिरहेको कुरा घाम जस्तै छ। जुन भ्रमहरुलाई पार्टीले चिर्न सक्नुपर्छ। उनीहरुलाई लोकतान्त्रिक शैलीबाट परास्त गर्न क्रान्तिकारी जनतालाई अनुरोध गर्नुपर्छ। संविधान जोगाएकोमा, लोकतन्त्र बचाएकोमा, विद्रोह गरेकोमा, समाजवादी यात्राको लागि आह्वान गरेकोमा क्रान्तिकारी जनताहरुले धन्यवाद दिनेछन्। एकीकृत समाजवादी पार्टीले अघि सारेका समाजवादी मोडलका कार्यक्रमहरु आगामी निर्वाचनमा जनताले अनुमोदन गर्नेमा कुनै गुन्जाइस छैन। पार्टीको मार्गनिर्देशक सिद्धान्त, दिर्घकालिन लक्ष्य, पार्टीको तात्कालिक लक्ष्य र तात्कालिक मुख्य कार्यभारका आधारमा नेपाली जनताले आगामी निर्वाचनमा अनुमोदन गर्नेछन्। परिर्वतनकारी र अग्रगमनकारी जनताहरुले वैज्ञानिक समाजवादको यात्रामा समाहित हुन अरुहरुलाई पनि आग्रह गर्नुपर्छ।

समाजवादका राता सिपाहीहरुले भन्नु पर्छ, कुनै सत्ता र शक्तिका लागि विद्रोह भएको होइन/थिएन। परिवर्तनका उपलब्धिहरुलाई संस्थागत गर्न, लोकतान्त्रिक गणतन्त्र नेपालको रक्षा गर्न, संविधानको कार्यान्वयन गर्न, सहिदहरुका सपना पूरा गर्न, नववादशाहलाई घोडाबाट लडाउन विद्रोह गरिएको हो। परिर्वतनकारी जनताहरुलाइ एकीकृत समाजवादी पार्टीले उठाएको राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय र सुशासनको झण्डा बाेकेर समाजवादको यात्रामा एकताबद्ध हुन अनुरोध गर्नुपर्छ।

उल्लेखित सबै मान्यताभन्दा माथि वैज्ञानिक समाजवादको यात्राका लागि नेपाली समाजलाई तयार गर्न नेकपा (एकीकृत समाजवादी) को जन्म भएको हो। यो त दलालपूँजीवादका मालिकहरुलाई नामेट गर्न खडा भएको गौरवशाली र क्रान्तिकारी पार्टी हो। प्रतिगमनकारीहरुका नारा र पारा सर्वहारा जनताले राम्ररी बुझेका छन्। सत्ताका लागि हिजो के के गरे? आज फेरी कस्ता कस्ता नारा लगाइरहेका छन्? मुल ढोकाबाटै प्रवेश गछौं भन्दै फगत नारा दिएर जनतालाई झुक्याउने कच्चा खेल खेलीरहेका छन्। यस्ता भ्रमहरुलाई चिर्दै एकीकृत समाजवादी पार्टीको भावि लक्ष्य, कार्यभार र तत्कालिक गन्तव्यका बारेमा जनतालाई राम्ररी बुझाउनुपर्छ। यस पार्टीको विधानमा समावेश गरिएका राजनीतिक दिशा र कार्यक्रमका बारेमा जनताले बुझ्ने भाषामा सुनाउनुपर्छ।

एकीकृत समाजवादी पार्टीको प्रस्तावनामा उल्लेख गरिएको पार्टीको रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद हो। यो पार्टी समाजमा रहेका सबैखाले शोषण उत्पीडन र विभेदहरूको अन्त्य गर्दै समानतासहितको स्वतन्त्रतामा पुग्न सकिन्छ भन्ने विश्वास गर्दछ। क्रान्तिका उपलब्धीहरूको रक्षा गर्दै शान्तिपूर्ण संघर्ष र लोकतान्त्रिक विधिबाट मुलुकको आर्थिक, सामाजिक रूपान्तरणसहित राष्ट्रिय पूँजीको विकास गरेर सामाजिक न्याय र लोकतान्त्रिक मूल्य मान्यतासहितको समाजवादका आधार निर्माण गर्नु यस पार्टीको तात्कालिक लक्ष्य हो।

प्रस्तावनामा अगाडि भनिएको छ, ‘दलाल नोकरशाही पूँजीवादी शोषण दमन र उत्पीडन तथा साम्राज्यवादी हस्तक्षेपका विरुद्ध संघर्ष गर्दै स्वाधिन राष्ट्रिय अर्थतन्त्रको जगमा अडिएको समृद्ध नेपाल निर्माणको अभियान सञ्चालन गर्नु र सामन्तवादको अवशेषका रूपमा रहेका कुरीति, अन्धविश्वास र रुढीवादको समूल अन्त्यका निम्ति सामाजिक–साँस्कृतिक रूपान्तरण अभियान सञ्चालन गर्नु यस पार्टीका तात्कालिक मुख्य कार्यभार हुन्।’

अन्त्यमा,

अब यहीनेर विद्यमान संसदीय साशन शैलीका बारेमा प्रश्न गर्नुपर्छ। के असफलसिद्ध संसदीय प्रणालीमार्फत समाजवादको यात्रा तय हुन्छ? हुँदैन। असफल सिद्ध संसदीय व्यवस्थाबाट वैज्ञानिक समाजवाद असम्भय प्राय: हुँदा प्रगतिशील पार्टीहरुले निर्वाचन प्रणाली र शासकीय शैली परिवर्तनका लागि ढिला गर्नु हुँदैन। वैज्ञानिक समाजवादको यात्रामा नेपाली जनतालाई लैजानका लागि मार्क्सवादी चेतना र चैतन्यको उचित प्रयोग गरिनुपर्छ। यदि यो समयमा क्रान्तिकारी नेपाली जनतालाई विश्वस्त हुने राजनीति, आर्थिक, सामाजिक र साँस्कृति रुपान्तरणका आधारहरु पेश गर्न सकिएन भने बिडम्बनापूर्वक भन्नुपर्ने हुन्छ, फेरी पनि संघीयता विरोधि, गणतन्त्रविरोधी, संविधान विरोधिहरुले राज जमाउन आइतबार कुर्नुपर्ने छैन। त्यसैले समाजवादको नेपाली मोडलका बारेमा, वाक तथा विचार अभिव्यक्तिको स्वतन्त्रताबारे, आर्थिक मोडलका बारेमा, राजनीतिक आचरण र व्यवहारका बारेमा, सामाजिक न्यायका बारेमा,  सुविचारित र वैज्ञानिक ढंगबाट सोच्न ढिला गर्नु हुँदैन।