पौडेलको नेतृत्वमा ११ सदस्यीय राजनीतिक संयन्त्र गठन



काठमाडौँ। पाँच दलीय सत्ता गठबन्धनको बैठकले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा ११ सदस्यीय राजनीतिक संयन्त्र गठन गर्ने निर्णय गरेको छ। सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउन सत्ता गठबन्धनले संयन्त्र गठन गर्ने निर्णय गरेको हो।

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार संयन्त्रमा सत्ता गठबन्धनमा रहेका ५ वटा पार्टीमा २–२ जना सदस्य रहनेछन्। मन्त्रिपरिषद्बाट सञ्चार मन्त्री ज्ञानेन्द्र कार्की पनि संयन्त्रका सदस्य रहनेछन्। संयन्त्रका पदेन सदस्य नरहे पनि प्रधानमन्त्री भने संयन्त्रको बैठकमा सहभागी हुने श्रेष्ठले बताए।

पौडेलले दुई महिना संयन्त्रको नेतृत्व गर्नेछन् भने त्यसपछि आलोपालोमा गठबन्धनमा आबद्ध पार्टीले त्यसको नेतृत्व गर्नेछन्। बैठकमा सहभागी नेताका अनुसार संयन्त्रमा नेपाली काँग्रेसको तर्फबाट पौडेल र कृष्ण सिटौला, माओवादीको तर्फबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीको तर्फबाट माधव नेपाल र नाम दिन बाँकी एक जना, जसपाको तर्फबाट उपेन्द्र यादव र नाम दिन बाँकी एक जना, राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी र दुर्गा पौडेल सदस्य रहनेछन्।

संयन्त्रलाई सरकारका काम कारबाहीमा समन्वय गर्ने, गठबन्धनबीच अन्तर्विरोध भए निवारण गर्ने, राष्ट्रिय सभा र उपनिर्वाचनको तालमेलबारे सहजीकरण गर्ने जिम्मेवारी दिइएको छ ।