‘पाँच दलीय सत्ता गठबन्धन आगामी चुनावसम्मै कायम रहन्छ’



काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय सत्ता गठबन्धन आगामी चुनावसम्मै कायम रहने संकेत गरेका छन्।

जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२६) मा भाग लिएर आज बिहान स्वदेश फर्किएका प्रधानमन्त्री देउवाले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन्।

प्रधानमन्त्री देउवाले भने, ‘गठबन्धन पूरै समयसम्म रहन्छ । गठबन्धनबारे कुनै किसिमको शंका नगर्नु भए हुन्छ।’ प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश प्रकरणबारे भने बोल्न चाहेनन्। पत्रकार सम्मेलनको सुरुमै देउवाले कोप–२६ सम्मेलनबाहेकका अरु प्रश्न नसोध्न आग्रह गरेका थिए।

सम्मेलनको क्रममा धेरै देशका सरकार तथा राष्ट्र प्रमुखहरुसँग विभिन्न विषयमा कुराकानी गरेको बताउँदै उनले नेपालप्रति छिमेकी भारतको सदभाव देखिएको जानकारी दिए।