काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केन्द्रदेखि प्रदेशसम्मका सरकारबाट एमाले आउट भएको टिप्पणी गरेका छन्।
बुधबार राजनीतिको मित्र पार्कस्थित एक पार्टी प्यालेसमा अखिल नेपाल महिला संघ (समाजवादी), काठमाडौँले आयोजना गरेको शुभकामना तथा देउसी भैलो कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले उक्त टिप्पणी गरेका हुन्।
अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीले तीन वर्षको अवधीमा कम्युनिष्ट आन्दोलन सिध्याउने र अहंकारी बन्ने काममा खर्चिएको बताए। उनले एमालेको चुनाव चिन्ह सुर्यमा ग्रहण लागेको दाबी गरे।
उनले भने, ‘एकीकृत समाजवादीको देशभरी लहर सुरु भइसक्यो। एमालेको सूर्यमा ग्रहण लागिसक्यो। त्यसको विकल्पमा कलम आइसक्यो। हाम्रो विजयको यात्रा अघि बढी सक्यो। केपी ओली सकिए। हिजो हामीलाई एमालेबाट आउट भन्थे। आज ओलीवादी चरित्र केन्द्रदेखि प्रदेशसम्म आउट भइसक्यो। साइबर स्यालहरुले डर देखाउन सक्छन्। तपाईँहरु डर नमान्नु होला। प्रतिशतमा काम गर्नुस। जिम्मेवार बन्नुहोस्। हरेक नेताहरु लागौं। इमान्दार बनौं। जनताको दुःख सुखमा साथ दिऔं। अनि एक नम्बरको पार्टी बनाऔं।’
उनले अगाडि भने, ‘कम्युनिस्ट आन्दोलन सखाप पार्ने प्रवृत्तिविरुद्ध हामीले आन्दोलनको राको बालेका छौं। सामाजिक न्यायका लागि लडौँ। जनबलबाट उपलब्धि हासिल गरौं। असम्भव ठानिएका उपलब्धिहरु पनि हासिल गरेको इतिहास छ। बिगतका गल्ति सच्याउँदै अघि बढ्ने र आलोचना सुन्ने, छलफल गर्ने हो भने हाम्रो पार्टीलाई कसैले रोक्न सक्दैन। छल्फलले विचार निर्माण गर्छ। समाजवादी पार्टी निजी कम्पनी होइन। व्यक्तिको लहडमा चल्ने पार्टी होइन। यो पार्टी विधि र विधानबाट चल्ने पार्टी हो।’
अध्यक्ष नेपालले आगामी चुनावमा पार्टीलाई शक्तिशाली बनाउनका लागि पार्टीका नेताहरु इमान्दार बन्नुपर्नेमा जोड दिए। उनले भने, ‘देशभर पार्टी लहर छ। जुनसुकै स्थानमा हाम्रो पार्टीका बारेमा प्रशंसा छ। यो पार्टी विचार र बिधिको पार्टी हुनेछ। नेताको भजन गाएको आधारमा कसैलाई नेता बनाईने छैन। हाम्रो पार्टीको कार्यकर्ताले जनताको पिर मर्का र दुःखमा कति साथ दिन्छ? त्यस्तो कार्यकार्ता समाजवादी पार्टीको असली नेता हुन्छ।’
समाजवादी पार्टीको कार्यभार सुन्दर समाज निर्माण गर्नु रहेको भन्दै अध्यक्ष नेपालले जनाताको सुरक्षा, रोजगार, शोषणको अन्त्य, असमानताको अन्त्य गर्ने लक्ष्य रहेको स्पष्ट पारे। उनले भने, ‘सामाजिक र राजनीति जागरणका लागि हामी अघि बढी रहेका छौँ। हाम्रो पार्टी परिवर्तनको सम्वाहक बन्ने हो। गर्न सकिने कामका बारेमा मात्रैबोल्यौ। राम्रो काम गरौं। समयमा गरौं। शीर ठाडो पारेर राम्रो काम गर्नुहोस्। तर, राम्रो काम गर्न सकिँदैन भने नराम्रो काम नगर्नुहोस्।’