मुगु बस दुर्घटना अपडेट: मृतकहरूमध्ये १० जनाको सनाखत



मुगु। मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो मुगुकाे छायानाथ रारा नगरपालिका ७ पिनाटपाने खोलामा दुर्घटना हुँदा चालकसहित ३२ जनाको मृत्यु भएको छ।

प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घटनास्थलमै, चार जनाको उपचारको लागि ल्याउँदा गर्दा ताल्चा विमानस्थलमा र अन्य चारजनाको उपचारको क्रममा नेपालगन्जमा मृत्यु भएको हो।

मृतकहरुमध्ये १० जनाको सनाखत भएको छ। रारा मध्यवर्ती क्षेत्रका अध्यक्ष बलराम साहनीका अनुसार मुगुमा मृत्यु हुनेमा चालक ३५ वर्षीय दानबहादुर रावल, छायानाथ रारा नगरपालिका ७ का १२ वर्षीय आशिष शाही, १३ वर्षीया सुदिक्षा बम, १६ वर्षीय भग बम, वडा नम्बर १ का १८ वर्षीया मञ्जु मल्ल, वडा नम्बर ८ का २२ वर्षीय सरोज बिताली र नविन बुढा छन्।

यस्तै उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु हुनेमा छायानाथ रारा १ का चन्द्रप्रसाद भाम, वडा नम्बर ७ का १२ वर्षीय आदित्य विक्रम शाही र वडा नम्बर ८ का २८ वर्षीय टोपबहादुर विष्ट छन्।

कोहलपुरमा उपचारका क्रममा ज्यान गुमाउने एक जनाको पहिचान नखुलेको बाँकेका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए। उपचारका लागि नेपालगञ्ज ल्याईएका १६ मध्ये १२ जनाको उपचार भइरहेको छ। घटनास्थलमा मृत्यु भएकामध्ये १६ जना पुरूष, सात जना महिला र १ जना बालक छन्। एक जना बालिकाको भने जिल्ला अस्पताल मुगुमै उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको छ।

बसमा सवारमध्ये तीन जनाले गाडीबाट हाम फालेको र दुई जना दुर्घटना हुनुभन्दा केही समय अघि ओर्लिएको बुझिएको बलरामले बताए। मृतक, घाइते र गाडीबाट हाम फालेर वा पहिले ओर्लिएर बचेकाहरूको संख्या अनुसार गाडीमा ४९ जना सवार रहेको बुझिएको छ।

बसमा सवार अधिकांश काठमाडौं, नेपालगञ्ज, सुर्खेत लगायतका स्थानबाट दशैँ मनाउन घर फर्किएका विद्यार्थी रहेको बुझिएको छ। स्थानीयका अनुसार मोडमा बसको अगाडिको टायर पेञ्चर भएर पड्किएको थियो। टायर पड्किएपछि बस पछाडि भीरमा खसेको थियो।

थाहाखबरबाट