मुगु बस दुर्घटना अपडेट: ज्यान गुमाउनेकाे सङ्ख्या ३२ पुग्याे, ११ जनाकाे उपचार चल्दै



मुगु। मुगुमा बस दुर्घटना हुँदा ३२ जनाको ज्यान गएको छ। नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढीका लागि छुटेको भे १ ख ३१६७ नम्बरको बस दिउँसो १२ बजेतिर छायाँनाथ रारा नगरपालिका-७ पिनाटपने खोलामा दुर्घटनामा परेको थियो।

प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घटनास्थलमा, चार जनाको उद्धारका क्रममा ताल्चा विमानस्थलमा र बाँकी चार जनाको नेपालगञ्जमा उपचारको क्रममा ज्यान गएको हो।

ज्यान गुमाउनेमा २२ जना पुरुष र १० जना महिला छन्। घाइते भएकाहरूलाई नेपाली सेना र समिट एअरको हेलिकप्टरबाट उद्धार गरेर नेपालगञ्जका अस्पतालमा पुर्‍याइएकाे प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले उज्यालोलाई जानकारी दिए। अहिले ११ जनाकाे उपचार चलिरहेकाे उनले बताए।

मृतकलाई अस्पतालसम्म लैजान समस्या रहेकाले भोली विहानसम्म मात्रै सबैको सनाखत गर्न सक्ने सम्भावना रहेको उनले बताए। बस भीरबाट निकै तल खसेको थियो।