काँग्रेस र माओवादीले टुङ्गो लगाए मन्त्रीको नाम, आज सपथ हुने



बुटवल। लुम्बिनी प्रदेश सरकारमा काँग्रेस, माओवादी केन्द्रबाट मन्त्री बन्ने सांसदहरुको नाम टुङ्गो लागेको छ। सबै दलले मन्त्रीको नाम टुङ्गो लगाएकाले आज दिउँसो मन्त्रिपरिषद विस्तार र मन्त्रीहरुलाई आजै सपथ गराउने कार्यक्रम तय भएको छ।

काँग्रेसबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पाल्पाका वीरबहादुर राना बन्ने भएका छन्। यस्तै राज्यमन्त्रीमा कपिलवस्तुकी रिना नेपाल विक र अर्जुन कुमार श्रेष्ठलाई पठाउने निर्णय गरेको प्रमुख सचेतक फखरुद्दिन खानले बताए।

यसअघि वन वातावरण तथा भूसंरक्षण मन्त्रीमा सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रीमा रुपन्देहीका वसिउद्दिन खाँलाई पठाउने काँग्रेस प्रदेश संसदीय दलले निर्णय गरिसकेको थियो। काँग्रेसबाट दाङका डिल्लीबहादुर चौधरी साउन २८ गते नै पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री भइसकेका छन्।

यस्तै माओवादी केन्द्रबाट दाङकी विमला खत्री वली राज्यमन्त्री बन्ने भएकी छन्। माओवादी केन्द्रबाट दाङका इन्द्रजित थारु र बर्दियाका तिलकराम शर्मा मन्त्री बन्ने टुंगो यसअघि नै लागेको थियो।

माओवादीबाट प्युठानका कृष्णध्वज खड्का आर्थिक मामिला तथा सहकारी मन्त्री बनेका छन्। माओवादीले आन्तरिक मामिला तथा सञ्चार, कानुन, महिला बालबालिका तथा जेष्ठ नागरिक र स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय पाएको छ।

आफ्ना पति उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि भएको उपनिर्वाचनमा विमला तत्कालीन नेकपाबाट निर्वाचित भएकी हुन्। नेकपा खारेज पछि उनले गत बैशाख १९ गते माओवादी केन्द्र रोजेकी थिइन्।

उनलाई एमालेमै राख्न एमाले नेताहरुले पाँच दिनसम्म तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको सरकारी निवासमा बन्धक बनाएर राखेको आरोप समेत लागेको थियो। उनलाई एमालेले आफ्नो सांसद भएको दावी गर्दै प्रदेश सभा बैठक अवरुद्ध गर्दै आएको छ।

साउन २८ गते चार दलीय गठवन्धन सरकार बनेपनि दलहरुले दलभित्रै र गठबन्धनमा मन्त्रालय र मन्त्रीको भागबण्डा मिलाउन नसक्दा दुई महिनासम्म मन्त्रिपरिषदले पूर्णता पाउन सकेको थिएन। दुई महिनासम्म मन्त्रिपरिषद विस्तार गर्न नसक्दा जनस्तरबाट दलहरु र सरकारको चौतर्फी आलोचना हुने गरेको छ।

१३ मन्त्रालय रहेको लुम्बिनी प्रदेशमा यसअघि मुख्यमन्त्रीसहित माओवादीका २, काँग्रेसका १, जसपाका ३ र स्वतन्त्र १ गरी ७ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो। जसपाले भौतिक पूर्वाधार, श्रम रोजगार तथा यातायात, कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय पाएको छ। त्यस्तै स्वतन्त्र सांसद अजय शाही उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री छन्।

एक जना मात्र सांसद रहेको नेकपा एकीकृत समाजवादीबाट रमा घर्ती मन्त्री बन्ने भएकी छन्।