कालिकोटमा त्रिबेणी गोल्ड कपको उद्घाटन



कालिकोट। ‘राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद’ भन्ने मुल नाराका साथ सान्नी त्रिबेणी गाउँपालिका वडा नं.१ स्थित गाउँपालिकाको रंगशाला लुसामा त्रिबेणी गोल्डकपको उद्घाटन भएको छ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी माओवादी सान्नी त्रिबेणी गाउँपालिका इन्चार्ज महेश केसी र विशेष अतिथि सान्नी त्रिबेणि गाउँपालिका वडा नं.१ का वडाध्यक्ष भरत बहादुर बिक (आकाश) ले संयुक्त रुपमा ब्यानर खोली उद्घाटन गरेका हुन्। कार्यक्रममा नेपाल श्रमजिबी पत्रकार महासंघका अध्यक्ष जन्मदेब जैसी, विभिन्न सरकारी कार्यालयका प्रमुख प्रतिनिधि, शिक्षक, पत्रकार, नागरिक समाज आदिको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि केसीले खेलकुद राष्ट्रको एउटा प्रमुख गहना भएकोले खेलाडीहरूले प्रमुख कुरा अनुसाशन अनिवार्य देखाउनु पर्ने कुरामा जोड दिए। त्यस्तै नेपाल श्रमजिबि पत्रकार महासंघका अध्यक्ष जन्मदेब जैसीले अबको युवाहरुले विभिन्न किसिमको खेलकुदलाई आत्मसात गरेर नेपालकै पिछडिएको जिल्ला कालिकोटको ठुलो पहिचान मात्र नभइ नेपालको शिर उठाउनु पर्ने भनाइ राख्दा सम्पुर्ण उपस्थित खेलाडीले ताली बजाएर स्वागत तथा धन्यवाद दिएका थिए।

उक्त खेलकुद समारोहमा कालिकोट जिल्लाको नौ वटै स्थानीय तहको विभिन्न क्लबका खेलाडीहरु उपस्थित भएका छ्न्। भलिबल र फुटबल गरेर जम्मा १८ खेल समाबेश भएको त्रिबेणी युथ क्लबका अध्यक्ष परेक राज गिरिले बताए। खेल यहि असोज २३ गते देखी असोज २७ गते सम्म हुने भएको छ। प्रतियोगितामा प्रथम पुरस्कार प्रमाणपत्र सहित ३० हजार नगद, द्वितिय पुरस्कार प्रमाणपत्र सहित २० हजार नगद र तृतीय पुरस्कार प्रमाणपत्र सहित १० हजार नगद रहेको आयोजकले जनाएको छ।