बाटोमा भेटिएको एक लाख रूपैयाँ सम्बन्धित व्यक्तिलाई फिर्ता



जाजरकोट। जाजरकोटका दुई युवाले बाटोमा भेटेको एक लाख रुपैयाँ प्रहरी मार्फत सम्बन्धित व्यक्तिलाई बुझाएर उदाहरणीय कार्य गरेका छन्।

जिल्लाको कुशे गाउँपालिका २ स्थायी घर भइ प्रधानमन्त्री आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ जाजरकोटमा जेटिए पदमा कार्यरत सुवास सिंह र भेरी नगरपालिका ४ घर भइ सोही कार्यालयमा जेटिए पदमा कार्यरत २३ वर्षीय धर्म चन्दले भेरी नगरपालिका ४ गैरीखाली स्थित सडकबाटोमा शुक्रबार बेलुका एक लाख रुपैयाँ फेला पारेका थिए।

‘घुम्न निस्केका थियौं बीच सडकमा प्लाष्टिकको झोलामा बेरेको सानो पोको भेट्यौं। के रहेछ भनेर खोलेर हेर्दा एक लाखको गड्डी रहेछ। हामीले तत्काल प्रहरीलाई बुझाइदियौं’, सुवासले भने।

करीव १८ घण्टापछि रकम हराएका कुशे गाउँपालिका ९ मेलविसाउना निवासी ४५ वर्षीय धर्मे सार्की सम्पर्कमा आएकाले उनलाई उक्त रकम हस्तान्तरण गरिएको जिल्ला प्रहरी प्रमुख डिएस्पी मधुकुमार थापाले बताए। प्रहरी प्रमुख थापाका अनुसार रकम हराउने धर्मे कमाइका लागि केही समय अघि भारत गएका थिए।

भारतबाट दसैं मनाउन घर फर्कने क्रममा नेपालगञ्जमा भारतीय रुपैयाँ साटेर शुक्रबार मात्र जाजरकोट सदरमुकाम आइपुगेका थिए। मदिरा सेवन गरेका कारण उनले रकम हराएका थिए।

मदिराको नसाले छोडेपछि शनिबार बिहान मात्र रकम हराएको थाह पाएका उनले सोधीखोजी गर्दा प्रहरीको सम्पर्कमा आएको र उनको बयानका आधारमा रकम उनकै भएको एकिन गरेर रकम फेला पार्ने व्यक्तिको रोहवरमा हस्तान्तरण गरिएको प्रहरी प्रमुख थापाले बताए।

रकम पाएपछि धर्मेले भने, ‘दिनरात अर्काको देशमा पसिना बगाएर कमाएको रकम हराए पनि फेला पर्यो। सत्यको धन रहेछ। कोही नहुनेको दैव हुन्छ भनेको साँच्चै रहेछ। अब यस्तो गल्ती कहिल्यै गर्दिनँ।’ रकम फेला पारेर इमान्दारपूर्वक प्रहरीलाई बुझाउने दुवै युवाहरुलाई प्रहरी प्रमुख थापाले धन्यवाद दिए।

अन्नपूर्ण पोस्टबाट