सिरिञ्जको सहायताले निकालियो बालकको कानभित्र अड्किएको सिमी



डोल्पा। डोल्पामा एक बालकको कानभित्र अड्किएको सिमी सिरिञ्जको प्रयोग गरेर निकालिएको छ। कानभित्र अड्किएको वस्तु झिक्न प्रयोग गरिने उपकरण नभएपछि सिरिञ्जलाई बंग्याएर अंकुशे बनाई सिमी निकालिएको हो।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. अखण्ड उपाध्याय र पारामेडिक्स कर्ण बिकले सिरिञ्ज बंग्याएर बनाइएको अंकुशेको सहायताले ११ वर्षका बालकको कानबाट सिमीको गेडा झिकेका हुन्। बालक खेल्ने क्रममा कानमा सिमी अड्किएपछि अभिभावकले अस्पताल ल्याएका थिए।

अस्पतालमा कानमा अड्किएको वस्तु झिक्न प्रयोग गरिने उपकरण जबसन हर्न प्रोब र क्रोकोडाइल फोरसेप नभएपछि सिरिञ्जकै मद्दतले निकालिएको डा. उपाध्यायले बताए। ‘हामीसँग जबसन हर्न प्रोब छैन, क्रोकोडाइल फोरसेप छ तर पुरानो भएर राम्रोसँग काम गर्दैन, त्यसैले सिरिञ्जको सहायताले निकालेका हौं’, उनले भने।

बालकको कानबाट सिमी निकाल्न उनीहरुलाई आधा घण्टा समय लागेको थियो। तिखो सिरिञ्जलाई बंग्याएर कानभित्र छिराउनु जोखिमयुक्त भए पनि अरु विकल्प नभएपछि सावधानीपूर्वक प्रयोग गरेको डा. उपाध्यायले बताए।

अनलाइनखबरबाट