प्रचण्डपथ छाडेका कारण पार्टीमा टुटफुट आयोः जनार्दन शर्मा



काठमाडौं। नेकपा माओवादी केन्द्रका नेतथा तथा अर्थमन्त्री जनार्दन शर्माले प्रचण्डपथ छाडेका कारण पार्टीमा टुटफुट आएको बताएका छन्।

पार्टीको सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिले शनिबार गरेको कार्यक्रममा उनले प्रचण्डपथले विचार र संगठनलाई केन्द्रीकरण गरेको तर त्यसलाई छाड्दा टुटफुट आएको बताएका हुन्।

‘प्रचण्डपथले वैचारिक केन्द्रीकरण गरेको थियो, आन्दोलनको भावनालाई केन्द्रीकरण गरेको थियो तर त्यसलाई छाड्दा सबथोक विकेन्द्रीकरणतर्फ गयो’, उनले भने, ‘अब प्रचण्डपथ र एक्काइसौं शताब्दीको जनवादबाट शिक्षा लिएर समाजवादी आन्दोलनको नेतृत्व गर्ने पार्टी बनाउनुपर्यो।’

उनले पार्टीलाई जननियन्त्रित र जननिर्देशित पार्टीको रुपमा विकास गर्नुपर्नेमा जोड दिए। ‘जनताको आदेशमा चल्ने पार्टी चाहियो। नेताले गरेका गल्तीमा जनताले औंला ठड्याउन पाउनुपर्यो। हामीले गरेका गल्ती उपर जनताले भण्डाफोर गर्ने मौका पाउनुपर्यो। यस्तो खालको पार्टी बनाउनुपर्यो अब।’

माओवादी केन्द्रको संगठन विभाग प्रमुखसमेत रहेका नेता शर्माले भने, ‘अबको पार्टी विधि र पद्धतिमा आधारित भएर चल्छ। सफ्टवेयरको जमाना छ। प्रविधिको प्रयोग गरेर नेता कार्यकर्ताहरुको मूल्याङ्कन गरिन्छ।’

From: Onlinekhabar