न्याय खोज्दै नेपालगञ्जदेखि पैदलै हिँडेर काठमाडौं पुगेको टोली र सरकारबीच वार्ता



काठमाडौं। घरेलु हिंसापीडित महिलाको हत्या अनुसन्धान हुनुपर्ने लगायतका माग राख्दै नेपालगञ्जदेखि पैदल हिँडेरै काठमाडौं पुगेको टोलीसँग सरकारले वार्ता गरेको छ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणीन्द्रमणि पोखरेलले आफूले नेपालगञ्जबाट आएको टोलीसँग वार्ता गरेको बताए। तर पीडित पक्षले चित्त बुझाएका छैनन्। उनीहरुले आफूहरुको मागमा सरकारले लिखित प्रतिवद्धता जनाउन माग गरे पनि प्रवक्ता पोखरेलले मौखिक आश्वासनमात्र दिएका थिए।

गृह प्रवक्ता पोखरेलले भने उनीहरु चित्त बुझाएर गएको  दावी गरे। ‘उहाँहरुको कुरा हामीले सुन्यौं, हाम्रा कुरा पनि भन्यौं, उहाँहरु चित्त बुझाएर जानुभएको छ’, पोखरेलले भने। पोखरेलले उनीहरुले राखेको माग पूरा गर्ने आश्वासन दिएको बताए। ‘हामी तपाईंको मागप्रति पोजेटिभ छौं भनेपछि हाम्रा साथीहरुलाई सम्झाउछौं भनेर जानुभएको छ’, उनले भने।

घरेलु हिंसा पीडित महिला नन्कुन्नी धोवी हत्याका दोषी तथा विधवा महिला निर्मला कुर्मीका हत्याका दोषीलाई पक्राउ गरी कारबाही गर्नुुपर्ने, बाँकेका प्रहरी प्रमुख एसपी श्याम अधिकारी र डीएसपी मधुसुदन न्यौपानेलाई विभागीय कारबाही गर्नुपर्ने माग गर्दै पीडित पक्षको एक टोली नेपालगञ्जदेखि पैदल हिँडेरै काठमाडौं पुगेको थियो। शुक्रबार काठमाडौं आएका उनीहरु माइतीघरमा धर्नामा बसेका छन्।

शुक्रबार साँझ धर्नास्थलबाटै प्रहरीले रुबी खातुनलाई पक्राउ गरेको थियो। गृहका प्रवक्ता पोखरेलले उनलाई नेपालगञ्ज नै पठाइएको बताए। ‘उनको नाममा जिल्ला अदालतले जारी गरेको वारेन्ट रहेछ, त्यसैले नेपालगञ्ज नै पठाएका छौं’, उनले भने।