गृह मन्त्रालयद्वारा बाँके र पर्सासहित चार जिल्लाका सिडिओ हेरफेर



काठमाडौं। गृह मन्त्रालयले शुक्रबार चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ। बाँके, पर्सा, रौतहट र सुनसरीका सिडिओको सरुवा भएको हो।

पर्सामा उमेश ढकाललाई पठाइएको छ। उनी सुनसरीमा सिडिओका रूपमा कार्यरत थिए। रौतहटमा सिडिओका रूपमा कार्यरत इन्द्रदेव यादवलाई सुनसरीको सिडिओ बनाइएको छ। त्यस्तै, बाँकेमा उपसचिव सूर्य खत्रीलाई कामु सिडिओका रूपमा पठाइएको छ। उनी गत महिना मात्र उद्योगबाट गृहमा आएका थिए।

पर्साका सिडिओ पीताम्बर घिमिरे, बाँकेका सिडिओ शिवराम गेलाल गृह मन्त्रालयबाट बाहिरिएका छन्। गृहले गत साता मात्र एक दर्जन जिल्लाका सिडिओ हेरफेर गरेको थियो।