सिमामा खटिएका सशस्त्र प्रहरी जवान भारतीय तस्करबाट कुटिए



कञ्चनपुर। सशस्त्र प्रहरी बलका जवानमाथि भारतीय तस्करहरुले कुटपिट गरेका छन्। जिल्लाको दोधाराचादनी नगरपालिका वडा नम्बर ८ सुन्दरनगरमा खटिएका जवान देखेर तस्करले कुटपिट गरेका हुन्।

अवैध समान ओसारपसार गर्न नदिको भन्दै उनीहरु परिवारसहित आएर पोसाकमै रहेका जवान सुदिप सुनारलाई कुटिएको हो। सोमबार राति भारतबाट अवैध समान नेपाल ल्याउँदा सिमानाकामा खटिएका प्रहरी जवान सुनारले रोकेपछि तस्कर अर्जुनकुमार सहितको टोलीले उनिमाथि आक्रमण गरेका हुन्।

सुन्दरनगर नाकामा सिमानाकाको सुरक्षाका लागि सशस्त्र प्रहरी जवान सुदिप सुनार एक्लै ड्युटीमा खटिएका थिए।

दोधारा चादनी नगरपालिमा खुल्ला सिमानका भएका कारण सिमानाकामा बाक्लो रुपमा सुरक्षा निकायलाई राख्न अहिले पनि सशस्त्र प्रहरीको जनशक्तिको नै अभाव रहेको छ ।

जसका कारण सिमनाकाको सुरक्षाको लागि केही ठाउँमा एक जना जवानलाई ड्युटीमा राख्नुपर्ने बाध्यता आएको र यसको फाइदा तस्करले उठाउँदै आएका छन्।

यसरी सिमानाकाको सुरक्षाको लागि पोसाकमा खटिएका सशस्त्र प्रहरीका जवान नै कुटिएपछि स्थानीय त्रसित भएका छन्। आफूपनि सुरक्षित नभएको महसुस गर्दै जवानमाथि हात हाल्ने पक्षलाई छिटो भन्दा छिटो पक्राउ गरि कारवाही गर्न मागसमेत गरेका छन्।

ड्युटीमा खटिएका जवानलाई आक्रमण गर्ने गिरोहलाई भारतले पक्राउ गरेको छैन। दोधारा चाँदनीका स्थानीय कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् भने घटनाको बिरोध गर्दै सोमबार राति नै सिमानाका नजिकै टायर समेत बालेका थिए।