आज बडादशैंको दोस्रो दिन, देवी ब्रह्मचारिणीको पूजा आराधना गरी मनाइँदै



काठमाडौं। बडादशैंको दोस्रो दिन आज शुक्रबार नवदुर्गा मध्येकी दोस्रो देवी ब्रह्मचारिणीको पूजा आराधना गरी मनाइँदैछ।

आज दशैँ घर अथवा पूजा कोठामा दुर्गा स्थापना गरिएको स्थलमा ब्रह्मचारिणीको स्तुति गरी मनाइने शास्त्रीय विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

नव दुर्गामध्ये पहिलो दिन शैलपुत्रीको पूजा आराधना गरिन्छ भने दोस्रो दिन ब्रह्मचारिणीको स्तुति गर्ने चलन छ। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाचौँ दिन स्कन्दमाताको स्तुति गरिन्छ।

त्यस्तै छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ। आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म यो पर्व मनाउने चलन छ। नवरात्रको पहिलो दिन घरघरमा घटस्थापना गरी जमरा राखेपछि बडादशैं शुरु भएको छ।

दशैंको दोस्रो दिन आज देशभरिका नवदुर्गाका मन्दिर र शक्तिपीठहरु र दशैंघरमा ब्रह्मचारिणी भगवतीको पूजा गर्ने गरिन्छ। राजधानीभित्र गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, कालीकास्थान, शोभा भगवती, तलेजु भवानी, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रायणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा पूजा हुने गर्दछ।

उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथीभारा, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता र षखडा, पोखराको विन्ध्यावासिनी, सुर्खेतको गंगामाला देउतीबज्यै सहितका मन्दिरमा पनि देवी दूर्गाको विशेष पूजा गरिन्छ। तर कोरोना संक्रमणको जोखिमका कारण भौतिक दुरी कायम गरि पुजा गर्नुपर्ने भएको छ।