दु:ख भोगेर डाक्टर बनेकी ३ जना चेली, जसले हाँकिरहेकी छन् कालिकोट जिल्ला अस्पताल



कालिकोट। नेपालका आम डाक्टरहरु दुर्गम क्षेत्रमा जानुपर्ने भयो भने विरक्त मान्छन्। तर, यसका अपवाद हुन् डा. किरन, अप्सरा र रमिता नाथ योगी।

उनीहरूले कहिल्यै सुगम क्षेत्रको कार्यस्थल रोजेनन्, जन्मथलोमै सेवा गर्ने सोच राखेर मन्त्रालय देखि नेताहरुसँग हारगुहार गरी आफ्नै जन्मथलो जिल्ला अस्पताल कालिकोटमा कार्यरत छन्। कालिकोटकी कलिलो उमेरकी यी तीन चेलीहरूलाई दुर्गममा कहिले जान पाइएला भन्ने व्यग्रताको तिर्खा मेटिएको छ।

अस्थायी रुपमै भएपनि दुर्गममै जन्मेहुर्केका उनीहरुको आफ्नो सम्पूर्ण जीवन दुरदराजमा बस्ने असहाय बिरामीहरुको सेवामा समर्पित गर्ने चाहना पुरा भएको छ। गाउँमै जन्मे-हुर्केकाले उनीहरूलाई गाउँको पीडा राम्ररी ज्ञात थियो।

१४ वर्षको छँदा डा. किरनको खुट्टामा समस्या आयो त्यतिबेला कालिकोट देखी शहरबजार जानको लागि बाटोघाटो, सञ्चारको कुनै सुविधा थिएन।

गाउँमा सामान्य स्वास्थ्यचौकी र जिल्लामा दक्ष चिकित्सकको अभाव थियो सामान्य खालका बिरामीको उपचार हुने गरेपनि जटिल खालका बिरामीको उपचार हुन्थेन। केही स्वास्थ्यकर्मीहरु थिए तर उनीहरु तालिमप्राप्त भने थिएनन्, फलस्वरुप उनले उचित उपचार पाउन सकिनन्। जिल्लाका अन्य गाउँमा भन्दा सदरमुकाममा केही सुबिधा भएपनि उतिबेला स्वास्थ्य सेवा पाउन मुस्किलै हुन्थ्यो।

खाँडाचक्र नगरपालिका मान्ममा जन्मिएकी किरन सानो उमेरमा गाउँमा पढेपनि पछी शहरमा पढ्ने अवसर पाइन्। बाबुआमाले उनलाई उपचारका लागि नेपालगञ्ज स्थित हाडजोर्नी तथा नसारोग अस्पतालमा पनि पुर्याए तर विडम्बना, उनको उपचार हुन सकेन। थप उपचारका लागी आफुलाई काठमाण्डौमा लगिसकेपछी मात्र सुधार आयो। यही घटनाले पहिलोपटक आफूलाई स्वास्थ्यकर्मी बन्ने प्रेरणा दिएको डा. किरन बताउँछिन्। ‘यदि यही पिडा आफुले नभोगेको भए सायद म यो क्षेत्रमा हुन्थेन होला। सानो छँदा आफ्नो रुची बैंक तिर जागिर खाने थियो।अहिले आफ्नै जन्मभुमीमा सेवा गर्न पाउँदा निकै खुशी छु। मेरो कर्म यस्तै दुखी, गरिब, असहाय र दिनदुखीको सेवामा बित्ने छ।’, उनले भनिन्।

पहिले भन्दा अहिले अस्पतालको सेवामा सुधार हुँदै गएको छ। अझै सेवालाई थप जनमुखी र प्रभावकारी दिलाउन औजार उपकरण र आवश्यक दक्ष जनशक्तिको आवश्यकता रहेको उनले बताईन्।

डा. किरनको मात्र पिडा थिएन, उनीभन्दा बढि पिडा नरहरीनाथ गाउँपालिका-९ लालुकी डा. रमितानाथ योगीको थियो। १४ वर्षको उमेरमै जन्म दिने आमा गुमाएर टुहुरी बनेकी रमिताको डाक्टर बन्ने रहर र चाहना थिएन। उनीपनि बाध्यताले डाक्टर बनिन्। उनी ८ कक्षा पढ्दा आमाको पाठेघरमा क्यान्सर भई मृत्यु भयो।

सामान्य परिवारमा जन्मिएकी रमिताको आर्थिक अवस्था निकै कमजोर थियो। उतिबेलाको समयमा सामान्य व्यथा, बिमार लागेमा सिटामोल समेत नपाउने गाउँमा उपचार सम्भव थिएन। ज्यान जोगाउन ऋण सापट गरेर भएपनि सुर्खेत, नेपालगञ्ज लगायतका शहरमा लिनुपर्ने बाध्यता थियो।

‘आर्थिक अवस्था कमजोर भएपछि गाउँको खेत,पाखो बेचेर आमालाई उपचार गरियो। अन्ततः आमालाई बचाउन सकिएन पैसा मात्र खर्च भयो। पछि कन्चन नेपाल भन्ने संस्थाले आफुलाई नि:शुल्क पढायो, कक्षा ११ र १२ पुर्ण छात्रवृत्तिमा नि:शुल्क पढ्न पाएँ।’, डा. रमिताले भनिन्।

उनले थपिन्, ‘सुनेको, देखेको नभई आफैले भोगेको हुँदा डाक्टर नै पढ्नुपर्छ भनेर काठमाडौंको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नाम निकालेर पुर्ण छात्रवृत्तिमा नि:शुल्क पढ्न पाएँ। अहिले आफ्नै जन्मथलोमा सेवा गर्न पाएकी छु। औषधी उपचार नपाएर मैले जन्म दिने आमा गुमाउन बाध्य भएपनि अब मेरी आमाजस्तै कसैको ज्यान नजाओस् भन्ने हेतुले दुर्गममै आएर आफ्नो जन्मथालोमा सेवा गर्न थालेकी छु। मेरो कथा अझै पिडादायी छ, जुन सडकबाट यो अवस्थासम्म पुगें। आखिर मनमा इच्छाशक्ति र मेहनत हुनुपर्दो रहेछ। यसैमा गर्व छ।’ यस घटनाबाट स्वास्थ्य क्षेत्रमा लाग्ने उनको अठोट झनै दृढ भएको थियो।

रमिता र किरनकै जती पिडा भोगेकी तिलागुफा नगरपालिका-३ फोईमा जन्मिएकी डा. अप्सरा हमाल पनि हुन्। अप्सरा पनि अहिले आफ्नै जन्मथलोमा कर्म गरिरहेकी छन्। पढ्नमा सधैं अब्बल अप्सरा कक्षामा सानैदेखि प्रथम हुन्थिन्। उनले कालिकोटस्थित गाउँकै स्कुलबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरिन्। त्यतिबेला जिल्लामा एसएलसीसम्म पढ्ने विद्यार्थी नै कम हुन्थे। त्यसमा पनि प्रथम श्रेणीमा उत्तीर्ण गर्नु चानचुने कुरा थिएन।

दुर्गमका नागरिकको दयनिय अवस्थाको भोक्तभोगी अप्सराले पनि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाटै एमविविएस उतिर्ण भएपछि गाउँमा सेवा गर्नुपर्छ भनी जिल्ला अस्पतालमा कार्यरत छिन्। अस्पताल मात्र होइन उनी आफ्नै गाउँमा पनी सेवा दिन जाने गरेकी छन्। उनको भनाई छ, ‘अब जन्मथलोमै कर्म गरेर खाने हो।’

विगतका दिनहरुमा डाक्टर नै टेक्न नसक्ने कालिकोटले अहिले स्थानिय डाक्टर पाएपछि सेवा प्रवाहमा सहज भएको स्वास्थ्य सेवा व्यवस्थापक डा. रत्नबिर सुनारले बताए। दक्ष विषयविज्ञ र दरबन्दि अनुसारका डाक्टरको त कुरा छोडौं, एमविविएस डाक्टर समेत पाउन नसकेको जिल्ला अस्पतालले अहिले स्थानिय डाक्टर पाएपछि अस्पतालले निरन्तर सेवा दिन थालेको सुनारले बताए। विगतका दिनहरुमा जेजस्तो कमी कमजोरी भएपनि अहिले अस्पताल सुध्रिंदै गएको उनले दावी गरे। गाउँकी महिलाहरुले प्रष्टसँग पुरुष डाक्टरसँग आफ्नो समस्याहरु भन्न नसक्नुले महिला डाक्टरको आवश्यकता थियो अहिले स्थानिय तीन जना डाक्टर भएपछि उपचारमा सहज भएको छ।

‘विगतका दिनहरुमा औजार उपकरण बिनै जटिल खालका शल्यक्रिया गर्नुपर्ने वाध्यता थियो। नसके रेफर गर्ने गरिएको थियो। अहिले उस्तै जटिल खालका केशहरु मात्र रेफर गछौँ। नत्र अस्पतालमै केश सफल भएका छन्। अहिले औजार उपकरण र जनशक्क्तीको अभाव छैन।’, व्यवस्थापक सुनाले भने, ‘जिल्ला अस्पतालमा मात्र हैन, जिल्लाका ९ वटै स्थानिय तहमा डाक्टर सहितको सेवा सुचारु गरेका छौं। दरबन्दि नभएको ठाउँमा अहिले एक हप्ताको लागी डाक्टर पठाउने गरेका छौं।’

डा. रमितानाथ योगी, किरन शाही र अप्सरा हमाल जस्तै दुर्गमका जनताको सेवा गर्ने भावना सबै डाक्टरहरुमा भइदिए नेपालको स्वास्थ्य क्षेत्रले काँचुली फेर्ने कालिकोटका प्रमुख जिल्ला अधिकारीले बताए। उनले भने, ‘स्थानिय डाक्टर र अस्पताल प्रमुख स्थानिय नै भएकाले अस्पतालको थप सेवा प्रवाह चुस्तदुरुस्त हुनेमा विश्वास छ।’