यस्तो छ सभामुखले एमालेलाई सम्बोधन गरेको पाठ



काठमाडौँ। बिहिबारको प्रतिनिधिसभा बैठक सुरु भए लगात्तै नेकपा एमाले सांसदहरुले सभामुखको आसन अगाडि पुगेर नाराबाजी गरेका छन्।

लगातार संसद बैठकमा अवरोध गर्दै आएको एमालेलाई सभामुख अग्नि सापकोटाले सम्बोधन गर्दै यथास्थानमा बसेर सभा सञ्चालनका लागि आग्रह गरेका छन्। उनले नाराबाजी गरिरहेका सांसदहरुलाई संविधानको धारा १ सय ५ तथा प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१ को पनि स्मरण गराएका छन्।

यस्तो छ सभामुखले एमालेलाई सम्बोधन गरेको पाठ

संसद लोकतन्त्रको अभ्यास गर्ने उच्चतम थलो हो। संसदको बैठकमा पुर्याइने अवरोधले लोकतान्त्रिक अभ्यासमाथि संकुचन ल्याउँछ। त्यसमाथि अहिले हामी देशको आर्थिक प्रशासनसँग सम्बन्धित अत्यावश्यक अर्थ विधेयकहरुको प्रक्रियामा छौँ । तसर्थ माननीय सदस्यहरुलाई आ–आफ्नो स्थानमा आशन ग्रहण गरी बैठक सञ्चालनमा सहयोग पुर्याउनका लागि अनुरोध गर्दछु।

माननीय सदस्यहरुले बैठक सञ्चालनमा पुर्याउनुभएको अवरोधले यस सभामा छलफल गर्नुपर्ने विषयले गति लिन सकेको छैन। देशका विभिन्न समस्याहरु तथा जनजीविकाको पक्षमा प्रतिनिधिसभाका अन्य सदस्यहरुले समेत बोल्न पाउनुभएको छैन। यी यावत समस्याहरूमा उहाँहरुको ध्यानाकर्षण गराउँदै बैठक सञ्चालनका लागि आ–आफ्नो स्थानमा आशन ग्रहणका लागि अनुरोध गर्दछु।

नेपालको संविधानको धारा १ सय ५ ले अदालतमा विचाराधीन मुद्दाहरूको सम्बन्धमा न्याय निरुपणमा प्रतिकूल असर पार्नेगरी संघीय संसदको कुनै सदनमा छलफल गर्न बन्देज गरेको कुरा पुनः स्मरण गराउन चाहन्छु। प्रतिनिधिसभा नियमावली २०७५ नियम २१ को खण्ड ख, ग र घ का प्रावधानहरु हामी सबैले पालना गर्नुपर्ने प्रावधानहरु हुन्। उल्लेखित प्रावधानहरुको पालनका लागि पुनः अनुरोध गर्दछु। आफ्नो सो आग्रहपछि पनि एमालेले नाराबाजी नछोडेपछि उनले संसदको कारवाहीलाई अघि बढाएका छन्।