वीरेन्द्रनगर-१ को वडा कार्यालयमा आगजनी



सुर्खेत। पेट्रोल छर्केर सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. १ को कार्यालयमा आगजनी गरिएको छ। कार्यालयमा वडाध्यक्ष नभेटेको झोकमा एक युवकले पेट्रोल छर्केर वडाध्यक्ष गंगाराम सुनारको कार्यकक्षमा बुधबार विहान आगजनी गरेका हुन्।

तस्बिर: किरण रेग्मीको फेसबुकबाट

प्रहरीका अनुसार वीरेन्द्रनगर-१ कै स्थानीय वासिन्दा वास्ताम लामिछानेले वडाध्यक्षको कार्यकक्षमा आगजनी गरेका हुन्। आगजनीबाट कार्यालयका कुर्सी, सोफा, दराज र त्यहाँ रहेका सबै कागजातहरु जलेर नष्ट भएको वडाध्यक्ष सुनारले जानकारी दिए। बुधार बिहान ८ बजे नै एउटा कार्यक्रममा सहभागी हुन आफू राजधानी आएको समयमा आगजनी भएको उनले बताए।

वडाध्यक्ष सुनारले भने, ‘करिब १०ः०४ बजेतिर वडा कार्यालयकै ल्याण्डलाइनबाट फोन आयो। मैले फोन रिसिभ गरें। फोन रिसिभ हुनेबित्तिकै तपाईं कार्यकक्षमा आउनु पर्दैन? भन्दै ती युवक कड्किए। डुलिडुली खाने? भनेर धम्की दिन थाले। मैले केही काम परे कार्यवाहक अध्यक्ष आउनुहुन्छ, बस्दै गर्नुस् न, यदि हतार नै हो भने यही होटेलमै आउनुस् भनेर फोन राखें।’

वडाध्यक्ष सुनारले अगाडि भने, ‘उनले फेरि फोन गरे, तपाईं आउनुहुन्छ कि तपाईंको कार्यालय जलाइदिम्? भनेर धम्की दिए, र फोन काटे। त्यसलगत्तै मैले वडा कार्यालयका कर्मचारीलाई फोन गरेर उनको काम गरिदिन भनें। त्यसको १० मिनेटपछि त वडा कार्यालयमा आगजनी भएको खबर आयो। तिनै व्यक्तिले कार्यकक्षमा पसेर पेट्रोल छर्केर आगो लगाइदिएछन्।’

प्रहरीले लामिछानेलाई अहिलेसम्म नियन्त्रणमा लिन सकेको छैन। आफू पनि घटना स्थलमै भएको र लामिछानेको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।