अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन एक सातापछि सर्यो



काठमाडौँ। माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २२औं राष्ट्रिय सम्मेलन तयारी नपुगेको भन्दै एक साता पछि सारिएको छ।

यही असोज ८, ९ र १० गते गर्ने भनिएको राष्ट्रिय सम्मेलन १४, १५ र १६ गते काठमाडौंमा गर्ने निर्णय भएको हो। केही प्रदेशको सम्मेलन बाँकी रहेको र पूर्वतयारी पनि नसकिएकाले राष्ट्रिय सम्मेलन १४ गतेबाट सुरु गर्ने निर्णय गरिएको अखिल क्रान्तिकारीका वरिष्ठ उपाध्यक्ष एवम् सम्मेलन प्रचार प्रसार उपसमिति संयोजक सुरेन्द्र बस्नेतले जानकारी दिए।

पार्टी अध्यक्ष प्रचण्डसँग छलफल

राष्ट्रिय सम्मेलनको तयारीबारे अखिल क्रान्तिकारीका नेताहरूको टोलीले मंगलबार बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल पनि गरेको छ। छलफलको क्रममा नेताहरुले हालसम्मको तयारीबारे प्रचण्डलाई जानकारी गराएका थिए। सो क्रममा प्रचण्डले सर्वसहमतिमा राष्ट्रिय सम्मेलनबाटै नयाँ नेतृत्व चुन्न सुझाव दिएका थिए। छलफलमा माओवादी केन्द्रका नेता एवम् विद्यार्थी फाँट हेर्ने फ्याक्सन इञ्चार्ज हितमान शाक्य समेत सहभागी थिए।

२१ औं राष्ट्रिय सम्मेलनमा भने क्रान्तिकारीले निर्वाचनमार्फत् नयाँ नेतृत्व चयन गरेको थियो। त्यसयता संगठन र पार्टीमा गुटबन्दी बढेको भन्दै प्रचण्डले सहमतिबाटै नेतृत्व चुन्नुपर्नेमा जोड दिंदै आएका छन्। अखिल क्रान्तिकारीको आगामी अध्यक्ष पदमा वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेत र उपाध्यक्ष पञ्चा सिंह प्रमुख दाबेदार छन्।

अखिल क्रान्तिकारीका ५५ जिल्लामा सम्मेलनहरु सकिइसकेको छ। काठमाडौं लगायतका केही जिल्लामा सम्मेलन हुन बाँकी रहेको अखिल क्रान्तिकारीका प्रवक्ता जीपी मैनालीले जानकारी दिए। अखिल क्रान्तिकारीको भौगोलिक (सात वटा प्रदेश) र गैरभौगोलिक (उपत्यका विशेष प्रदेश) गरी ८ प्रदेश संरचना छन्।

उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरसहित केही जिल्ला सम्मेलनहरु बाँकी रहेको र प्रदेश सम्मेलनका लागि विधान र कार्यविधि तयार गरी हिजो परिपत्र गरिएको प्रवक्ता जीपी मैनालीले जानकारी दिए। यसपालि पालिकास्तरमा पनि अखिल क्रान्तिकारीको सम्मेलन भएका छन्। यसअघि पालिकाहरुमा अखिल क्रान्तिकारीको संरचना बनेको थिएन।