बौनियामा लागूऔषध नियन्त्रणबारे सचेतना कार्यक्रम सञ्चालन



बौनिया। कैलालीको बर्दगोरिया गाउँपालिकामा लागू औषधविरुद्ध प्रहरीले सचेतनामुकल कार्यक्रम सञ्चालन गरेको छ।

विशेष गरी पछिल्लो समय बढ्दो लागूऔषध दुर्व्यसनी तथा दुरुपयोग र ओसारपसार रोकथाम र नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय सडकपुर बौनियाले सचेतनामुलक कार्यक्रम थालेको हो।

लागू औषध नियन्त्रणका लागि प्रहरीले यहाँका सरोकारवाला निकाय तथा स्थानीयसँग परामर्श र साझेदारी लगाएतका कार्यक्रम गर्दै आएको कार्यालयका प्रहरी सहायक निरीक्षक नमराज भट्टले बताए।

यसैक्रमा मंगलबार इलाका प्रहरी कार्यालय बौनिया परिसरमा स्थानीयसंघ लागू औषध दुर्व्यसनी नियन्त्रण, यसबाट शारीरिक तथा मानसिक असरका साथै कानूनी कारबाही बारे सचेतिकरण कार्यक्रम गरिएको छ।

कार्यक्रममा प्रहरी सहायक निरीक्षक भट्टले पछिल्लो समय युवापुस्ता बढी लागू औषध सेवन, यसको ओसारपसारमा सक्रिय बनेको बताउदै यसप्रति सबै सचेत हुन आवश्यक रहेको बताए। लागू औषध दुर्व्यसनी रोक्न र यसको ओसारपसार नियन्त्रण गर्न प्रहरी बढी सक्रिय बनेको बताउदै अभिभावकसमेत जिम्मेवार बन्नुपर्ने बताए।

लागू औषध दुव्र्यसनमा फसेसँगै आर्थिक जोहो गर्नकै लागि कतिपयले लुटपाट, चोरीतस्करी जस्ता पेशामासमेत युवापुस्ता समाहित हुने गरेको पाइएको उनले बताए।