नेकपा (एकीकृत समाजवादी)को पहिलो केन्द्रीय बैठक आज



काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठक आज काठमाडौँमा बस्दैछ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट नेता माधवकुमार नेपालको नेतृत्वमा अलग भएर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीको आज पहिलो पटक केन्द्रीय समितिको बैठक बस्न लागेको हो।

भोलिसम्म चल्ने बैठकमा समसामयिक राजनीतिक विषयवस्तु र सङ्गठन विस्तारका लागि आवश्यक रणनीतिबारे छलफल गरिने केन्द्रीय सदस्य दिलुकुमारी पन्तले जानकारी दिइन। बैठकमा पार्टीका विभिन्न विभाग, जनवर्गीय सङ्गठन, सम्बन्धित आयोगका गठन, पुनः गठन, विस्तार तथा सुदृढीकरणका लागि आवश्यक छलफल गरिने बताइएको छ।

बैठकमा सरकारलाई सफल बनाउन पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, सरकारमा सहभागिताको विषय, राजनीतिक सङ्गठन प्रबद्र्धनका लागि राष्ट्रियस्तरमा के कसरी अभियान सञ्चालन गर्ने ? भन्ने विषयमासमेत छलफल हुनेछ।

बैठकले केही नेताको विभागसमेत हेरफेर गर्ने र केही नेतालाई नयाँ जिम्मेवारी तोक्न सक्ने सम्भावना रहेको छ। बैठकमा ११३ जना केन्द्रीय सदस्य सहभागी हुनेछन। नेकपा (एकीकृत समाजवादी) पार्टीले अहिलेसम्म देशका ५५ जिल्लामा कार्यसमिति गठन गरेको छ।

सङ्गठन विस्तारका लागि सदस्यता वितरणको तयारीमा सो पार्टी रहेको छ। पार्टीको सङ्गठन विस्तारका लागि वितरण गरिने सदस्यताको फारम अनलाइनबाट उपलब्ध गराइने छ। बामपन्थी पृष्ठभूमि भएका पार्टी सदस्यता लिन चाहने नेतालाई पुरानै सदस्यता कायम गरिएको छ।