नेपालद्वारा सातौं संविधान दिवस तथा राष्ट्रिय दिवसको शुभकामना



काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सातौ संविधान दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन्।

अध्यक्ष नेपालले शुभकामना सन्देश व्यक्त गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माणका लागि भएका विभिन्न आन्दोलनको क्रममा अमूल्य जीवन गुमाउनु हुने ज्ञात अज्ञात शहीदहरूप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

अध्यक्ष नेपालद्वारा जारी सन्देश

सातौं संविधान दिवस सॅगै छ वर्षअघि असोज ३ मा घोषणा भएको नेपालको संविधान सातौं वर्षमा प्रवेश गरेको छ। संविधान दिवस तथा राष्ट्रिय दिवसको सुखद् अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। यस अवसरमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माणका लागि भएका विभिन्न आन्दोलनको क्रममा अमूल्य जीवन गुमाउनु हुने ज्ञात अज्ञात शहीदहरूप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।

नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानपूर्ण आन्दोलनको उपलब्धिका रूपमा संविधान सभाबाट सङ्घीय लोकतन्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको हो। प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासनप्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा कानुनी राज्यको अवधारणा लगायत लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्नु संविधानको उपलब्धि हो।

संविधान जारीपछि मुलुकको राज्य संरचना र शासन सत्ता लगायतमा ठूलो परिवर्तन तथा सुधार भएको छ तर अहिले पनि प्रतिगामी र दक्षिणपन्थी शक्तिहरु संविधानको विरुद्ध लागिरहेको हामी सवैले अनुभुति गरिरहेका छौं। पाँच दलीय गठबन्धनको नेतृत्वमा भएको सडक आन्दोलनले मुलुकलाई प्रतिगमनबाट जोगाउन र संविधानको रक्षा गर्न सफलता प्राप्त गरेको हो। सम्मानित सर्वोच्च अदालतको फैसलाबाट संविधान र लोकतन्त्रको रक्षा भएको कुरालाई पनि यस अवसरमा उच्च सम्मान सहित स्मरण गर्नैपर्छ। स्वतन्त्र र सक्षम न्यायपालिका, लोकतान्त्रिक व्यवस्थापिका र जवाफदेही कार्यपालिकाबाट नागरिकको हित र मुलुकको समृद्धि हासिल गर्न सकिन्छ। जनताको व्यापक सहभागितामा संविधान सभाले बनाएको संविधान कार्यान्वयन मार्फत नै संविधानले परिकल्पना गरेको समाजवाद स्थापना गर्न सकिन्छ। संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न आ–आफ्नो तर्फबाट इमान्दार प्रयास गर्न सबैमा आह्‍वान गर्दछु। धन्यवाद।

 माधव कुमार नेपाल
अध्यक्ष तथा पुर्व प्रधानमन्त्री
२०७८ असोज २