कर्णालीका मुख्यमन्त्री शाही पुन: विवादमा



काठमाडौँ। मार्क्सले धर्म ‘अफिम’ हो भनेका छन्। धर्मलाई उनले समाज परिवर्तनका लागि मन्द बिषको संज्ञा दिँदै यस्तो बताएका थिए। त्यस्तै, लेनिले रुसमा जारलाई मात्रै होइन त्यहाँ रहेका चर्चहरूलाई पनि दुस्मनका रुपमा हेरेका थिए।

अफगानिस्तानबाट सोभियत संघलाई हटाउन र त्यहाँ रहेका कम्युनिस्ट विचार बोकेका नेताहरुलाई हराउन सन् १९८० को दशकमा अमेरिकाले धार्मिक संगठन तालिबानलाई प्रयोग गरेको थियो। अमेरिकाले त्यही तालिबानसँग पछिल्ला २० वर्ष युद्ध गर्नुपरेको छ। चीनका माओ त्सेतुङले पनि धर्मलाई महत्व दिएनन् र उनले पनि यसलाई समाज रुपान्तरणको मन्द बिषको संज्ञा दिएका छन्।

यही देखेर नेपालका माओवादीले जनयुद्ध सुरु गर्दा धर्मलाई मन्द बिषका रुपमा ब्याख्या गरे। उनीहरुले दसैं, तिहारजस्ता चाडबाड मान्नेलाई पनि घृणाको दृष्टिले हेर्थे भने निधारमा टीका लगाउन छाडे। अझै पनि माओवादी नेताहरुले निधारमा चामलको टीका लगाएको देखेमा आलोचना हुन्छ।

नेपालमा धार्मिक रुपमा माओवादीले चालेका यस्तै कदमका कारण सनातन धर्म मान्नेहरुले भने माओवादीलाई ‘धर्म मास्ने’ वा धर्मविरोधीका रुपमा हेर्छन्। त्यसो त नेपालमा ठूला धार्मिक संगठन थिएनन्, छैनन् पनि। नेपालको ठूलो जनसंख्या हिन्दू र बौद्ध (ओमकार परिवार) धर्मावलम्बीको छ। उनीहरुमा पनि धार्मिक कट्टरता धेरै कममा मात्रै पाइन्छ।

साना मष्टोका देवी देवता मान्ने सानो समूहमा जात वा गोत्रहरु नेपालमा छन्। माओवादीले तिनै जात वा गोत्रले मान्ने पुज्ने गरेका साना साना मष्टोका मन्दिर पनि भत्काउँन छाडेका थिएनन्। मन्दिर भत्काउने तिनै माओवादी अहिले राज्यका विभिन्न निकायमा छन्। माओवादी जनयुद्धकालमा डिभिजन कमाण्डर रहेका कर्णालीका मख्यमन्त्री महेन्द्रबहादुर शाही राजनीति मूलधारमा आएपछि धर्मप्रतिको उनको धारणा पुरै ‘युटर्न’ भएको छ।

माओवादी जनयुद्धमा मन्दिर भत्काउने तिनै मुख्यमन्त्री शाही मुख्यमन्त्री भएपछि कालो बोका काटेर साइत हेराएर मुख्यमन्त्री निवासमा प्रवेश गरेका थिए। मुख्यमन्त्री भएको पहिलो आर्थिक वर्षमा मठमन्दिर निर्माणमा झण्डै एक अर्ब रुपैयाँ खर्च गरेका थिए।

यसै वर्ष भदौ ३ गते कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पत्नी चन्द्रा शाही र कालीकोट सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीका साथ हेलिकप्टर चार्टर गरेर बडीमालिका धाम, कालीकोटको पचालो देवताको मन्दिरमा पुजा गरे। कोरोना कहरमा ठूलो संख्यामा युवाहरु जीवन धान्नकै लागि विदेशिनु परेका बेला मुख्यमन्त्री शाहीका यस्ता फजुल कामको आलोचना भइरहेको छ।

त्यसो त यसअघि २०६५ सालमा सरकारमा हुँदा पशुपतिनाथमा पुजारी परिवर्तनदेखि माओवादी अध्यक्ष प्रचण्डले भैंसीपूजा गरेको भन्दै बेलाबेला आलोचना हुँने गरेको छ। माओवादीमा लागेर धर्म र धार्मिक कार्यको विरोध गर्दै हिँडेका नेताहरु अहिले भने आफूलाई धार्मिक प्रवृत्तिको देखाउन लागिपरेका छन्।