आईसीसी क्रिकेट: नेपाल ओमानसँग ५ विकेटले पराजित



काठमाडौँ। आईसीसी क्रिकेट वर्ल्ड कप लिग २ को त्रिकोणात्मक शृङ्खला अन्तरगतको दोस्रो खेलमा नेपाल ओमानसँग ५ विकेटले पराजित भएको छ। ओपनर जतिन्दर सिंहले शतकीय पारी खेलेपछि नेपाल हार व्यहोर्न बाध्य भएको हो। नेपालले प्रस्तुत गरेको १ सय ९७ रनको लक्ष्य ओमानले मात्र ३१.१ ओभरमा पछ्यायो।

प्लेयर अफ द म्याच घोषित सिंहले विष्फोटक ब्याटिङ गर्दै १२ चौका र ६ छक्का हिर्काउँदै १०७ रन बनाए। मोहम्मद नदिमले ३८ र सुरज कुमारले २० रन बनाए । नेपालका लागि करण केसी र कुशल मल्लले २–२ विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४७.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९६ रन बनाएको थियो।

नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ९० रन बनाए। ११२ बलमा उनले ७ चौका र १ छक्का हिर्काए। त्यस्तै, कप्तान ज्ञानेन्द्र मल्लले २१ तथा रोहित पौडेलले २० रनको योगदान दिए। तर, नेपालको मध्य क्रम टिक्न नसक्दा नेपाल ठूलो योगफल बनाउनबाट चुक्यो।

खेलको अन्त्यतिर करण केसीले २१ तथा सन्दीप लामिछानेले १६ रन बनाउँदै बनाउँदै नेपालको स्कोर सम्मानजनक बनाए। ओमानका लागि विलाल खानले ४ तथा नेस्टर धाम्बाले २ विकेट लिए। पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो।