प्रचण्ड धोकेबाज नेता हुन्: अध्यक्ष ओली



काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहजिल्ला झापा पुगेर माओवादी केन्द्रका अध्यक्ष र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको चर्को आलोचना गरेका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई धोकेबाज नेताको संज्ञा दिएका ओलीले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई कमरेड नभएको टिप्पणी गरे। मंगलार गृह जिल्ला झापामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमाले फुटेको नभई चोइटिएको दाबी गरे।

नेता नेपालमाथि खनिएका ओलीले एमालेलाई कमजोर बनाउन तमासा मात्र गरेको र उनको पार्टी नक्कली नक्कली भएको बताए। १५ वर्षसम्म एमालेबाट फाइदा मात्र लिएको भन्दै उनले भने, ‘माधव नेपाल आन्दोलनमा जोडिएका थिए, फेरि छुट्टिए। यसरी जोडिएका रहेछन् कि रसायन नै पुगेको रहेनछ। पक्लक्क फुक्लियो।’

तर उनले बनाएको पार्टीले आगामी चुनावमा वडा सदस्य पनि जिच्न नसक्ने एमाले अध्यक्ष ओलीको दाबी छ। उनले माधव नेपाललाई कमरेड नभन्न समेत आग्रह गरे। उनले पनतको बाटो रोजेको भन्दै एमाले अध्यक्ष ओलीले भने, ‘अब कमरेड माधव नेपाल होइन, एमाले विरोध माधव नेपाल।’

ओलीले पूर्व सहयोद्दा प्रचण्डको पनि चर्को आलोचना गरे। तान्त्रिक जस्तो मायावी उनले नेता कार्यकर्तालाई अलमल्याउन मात्र काम गरेको ओलीको आरोप छ। ‘प्रचण्ड असल बाबु हो, असल काका हो, असल ससुरा हो, असल सम्धी हो । तर धोकेबाज नेता हो,’ उनले अघि भने, ‘नेता कार्यकर्ताको रगत, पसिनामाथि आफ्नो राजनीतिक दुनो सोझो पारेका छन्।’

माधव नेपालसँग जादु टुना, न मन्त्र दुबै नभएको बताए। कसैले अह्राए अनुसार पार्टी फुटाएको र नेपालको कम्युनिस्ट आन्दोलनलाई धरासायी बनाउन भूमिका खेलेका ओलीको आरोप छ।