दैलेखमा शिक्षकको विभत्स हत्या, हत्या आशंकामा दुई पक्राउ



दैलेख। दैलेखको गुराँस गाउँपालिकामा विभत्स अवस्थामा एक जना शिक्षकको शव फेला परेको छ।

गुराँस गाउँपालिका-८ छोटेपोखरामा रहेको मालिका माध्यमिक विद्यालयमा सामाजिक विषय पढाउने करिब ४१ वर्षिय शिक्षक नगेन्द्र विसीको शव घाँटी रेटिएको अवस्थामा भेटिएको हो।

मंगलबार बिहान सोही विद्यालयमा उनको शव भेटिएको प्रहरीले जनाएको छ। बिहान दुध बेच्न जाने स्थानीयले उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

जिल्ला प्रहरी कार्यालय दैलेखबाट प्रहरी निरीक्षक ईन्द्रजीत सुनारको नेतृत्वमा टोली घटनास्थल पुगेको दैलेखका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए।

उनलाई गएराति लखेटेर विद्यालय प्राङ्गणमा पुर्याइ हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ।

प्रारम्भिक अनुसन्धान सुरू भएको डिएसपी श्रेष्ठले बताए। ‘प्रहरी पुगिसकेको छ, त्यहाँको अवस्था बुझ्ने र अनुसन्धान गर्ने कार्य हुन्छ’, उनले भने, ‘अब केही बेरमा शव उठाएर ल्याउने काम पनि हुन्छ।’

प्रहरीले शंका गरिएको दुई जना स्थानीयलाई पनि पक्राउ गरेको छ।