लिग २: नेपालले आज ओमानसँग खेल्दै



काठमाडौँ। आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ।

सिरिजको पहिलो खेलमै अमेरिकालाई ५ विकेटले पराजित गरेको नेपाल सोही लयलाई कायम राख्दै लगातार जितको अपेक्षासहित मैदान उत्रनेछ। नेपाल र ओमानबीचको खेलमा मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो ४/१५ बजे सुरु हुनेछ। नेपालले लगातार दोस्रो दिनै खेल खेल्दैछ। सोमबार मेरिकासँग ९९ ओभर खेलेको नेपालले धेरै आराम पाएको छैन। ओमान भने पहिलो खेल खेल्दैछ।

पछिल्लो समय ओमान क्रिकेटमा बलियो बन्दै आएको छ। त्यसैले लयमा रहेको नेपाल र घरेलु टोली ओमानबीचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा छ।ओमान लिग २ को अंक तालिकामा शीर्ष स्थानमा छ। अहिलेसम्म १० खेल खेलेको ओमानले ८ जितबाट १६ अंक जोडेको छ।

सन् २०२० फेब्रुअरीमा नेपालमै भएको लिग २ को दुवै खेलमा नेपाल ओमानसँग पराजित भएको थियो। टीयू मैदान ओमानले नेपाललाई पहिलो खेलमा १८ रनले र दोस्रो खेलमा ८ विकेटले पराजित गरेको थियो। अहिलेसम्म ओमानसँग खेलेको दुवै ओडीआईमा नेपाल पराजित भएको थियो। त्यसैले पनि नेपाल ओमानमाथि ओडीआईमा पहिलो जित हात पार्ने लक्ष्यमा हुनेछ।

अमेरिकालाई हराएपछि पाँच खेलबाट ६ अंक जोडेको नेपाल छैटौं स्थानमै छ। सन् २०२३ मा भारतमा हुने ओडीआई विश्वकपको रोडम्यापको रुपमा रहेको लिग २ मा ७ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन्। जसमा एक टिमले ९ सिरिजमा कुल ३६ खेल खेल्न पाउनेछ। सबै खेलपछि लिग २ को शीर्ष तीनमा रहने राष्ट्रले सन् २०२३ को जुलाईमा जिम्बावेमा हुने ग्लोबल छनोटमा स्थान बनाउने छन्।