‘एमाले सहमतिमा नआए पनि बजेट प्रतिस्थापन विधेयक पारित हुन्छ’



काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमाले सहमतिमा नआए पनि बजेट प्रतिस्थापन विधेयक पारित हुने बताएका छन्।

सोमबार सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्बदलीय बैठकमा प्रधानमन्त्री देउवाले बजेट पारित गर्न द्वन्द्वको विकल्पमा जानुपर्ने हुन सक्ने बताए।
सहमतिमा नआएको अवस्थामा बजेट पास गर्न द्वन्द्वको विकल्पमा जानुपर्ने हुन्छ। त्यसकारण वार्ता, छलफल र सहमतिको लागि गठबन्धन तयार छ। उहाँहरु (एमाले) सहमति र सम्वादमा आउन जरूरी छ’ देउवाले भने।

प्रधानमन्त्री देउवाले अहिले सरकारलाई परेको समस्या प्रमुख प्रतिपक्षीलाई पनि भविष्यमा आउन सक्ने उल्लेख गर्दै एमालेले सोच्नुपर्ने बताए । सरकारलाई भदौ ३० गतेभित्र बजेट प्रतिस्थापन विधेयक पारित गर्नुपर्ने बाध्यता छ।

बैठकमा कांग्रेस नेता समेत रहेका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रतिनिधि सभा सञ्चालन गर्न सहमतिको प्रयास जारी राखिएको बताए।

कार्कीले सदनबाट बजेट पास गर्नुपर्ने, नियम निलम्बन गरी अघि बढ्न प्रमुख प्रतिपक्षको सहमति चाहिने र उत्पन्न गतिरोध हल गर्न आफूले अनौपचारिक र औपचारिक पहल गरेको उल्लेख गरे। आफूले संसदको गतिरोध अन्त्य उद्देश्यले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग उनकै निवासमा पुगेर छलफल गरेको पनि मन्त्री कार्कीले बताए।

एमालेले लगातार संसदमा नाराबाजी जारी राखेपछि सभामुख अग्निप्रसाद सापकोटाले सोमबार संसदमा भएका दलका शीर्ष नेताहरुको बैठक बोलाएका थिए । तर एमालेका नेताहरु उक्त बैठकमा गएनन्।