खतिवडाको प्रश्न: केपी ओलीलाई संसदबाट निकाल्नुपर्छ भन्दा के हुन्छ?



काठमाडौँ। नेकपा एकीकृत समाजवादीका प्रभावशाली नेता विरोध खतिवडाल एमाले पार्टीले संसदमा ५ दिन मात्र हैन ५ वर्ष नारा जुलुस गरे पनि सांसदलाई निकाल्न नमिल्ने ठोकुवा गरेका छन्।

आइतबार संसद परिसरमा सञ्चारकर्मीहरुको सँगको सवाल जवाफमा उनले भनेका छन्, ‘संसद् खुला गर्न जसले गैरकानुनी रुपमा गतिरोध बढाइरहेका छन्, उनीहरूले छोड्नुपर्छ। सभामुखले सांसदलाई निकाल्न मिल्छ? संसद्बाट सांसदलाई निकाल भनेर ५ दिन मात्र हैन ५ वर्ष नारा जुलुस गरे पनि निकाल्न मिल्दैन।’

उनले अगाडि भनेका छन्, ‘मन्त्रीले यस्तो गरे त्यसमा सुधार गर भन्न सकिन्छ तर अधिकार नै नभएको विषय माग गर्न सकिन्छ? बरु विधेयकमा सुधार गर भन्न सकिन्छ, अनेकै चिजमा पक्षपात भयो भनेर मिलाउन सकिन्छ। अनि नारा लगाएर १४ जना सांसदलाई निकाल भन्दा हामीले नारा लगाएर दुई दुई पटक संसद् भङ्ग गर्ने केपी ओलीलाई निकाल्नैपर्छ भन्यौ भने सभामुखले केपी ओलीलाई निकाल्न मिल्छ? सर्वोच्चमा मुद्दा लिएर उनीहरू आफै जाने, अनि यता संसद् घेर्ने? ३ महिना ६ महिना जति संसद् घेरेपनि उनीहरूको माग पूरा हुँदैन।’