एमाले छोड्नेहरु राजनीतिक अपराधि हुन्:अध्यक्ष शाही



कालिकोट। नेपाल कम्युनिष्ट पार्टी (एमाले) कालिकोटका अध्यक्ष नगिन्द्र शाही ‘नेसनल’ ले एमालेबाट चुनाव जितेर नेकपा एकीकृत समाजवादीमा सनाखत गर्नेहरुले राजनीतिक अपराध गरेको आराेप लगाएका छन्।

आइतबार नेकपा एमाले शान्नि त्रिवेणी गाउँपालिले आयाेजना गरेकाे कार्यक्रममा बाेल्दै अध्यक्ष शाहीले उक्त आराेप लगाएका हुन्। अध्यक्ष शाहीले पार्टी एमाले, चुनाव चिन्ह सूर्य, विचार जबज मान्नेहरुले अहिले आएर एमालेकै विरूद्धमा भेला गर्ने, निर्वाचन कार्यालयमा गएर सनाखत गर्ने काम भइरहेको बताए।

यसरी नयाँ राजनीतिक दलमा सामेल हुनेहरुलाई अध्यक्ष शाहीले भगौडाको संज्ञा दिएका छन्। उनले भने, ‘एमाले पार्टी र चुनाव चिन्ह सूर्यबाट चुनाव जितेकाहरु आज लाजश्रम नमानि फरक राजनीति दलमा सहभागि हुने, गाउँमा भेला गर्ने गरिरहेका छन्। यिनीहरु भगौडाहरु हुन्। यिनीहरुले राजनीतिक अपराध गरेका छन्। कुनै दिन जनताले उचित जवाफ दिनेछन्।’

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका अध्यक्ष शाहीले सबै खाले राजनीतिक अपराधमा संलग्नहरुका विरुद्धमा एक भएर लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।

त्यस्तै कार्यक्रममा नेकपा एमाले कर्णाली प्रदेश कमिटीका सदस्य तथा खाँडाचक्र नगरपालिका प्रमुख जसिप्रसाद पाण्डेले एमाले पार्टीकै नामले परिचय दिने भगौडालाई अधिकार नभएको बताए। उनले पार्टीमा फरक विचार र दुई लाईन संघर्ष हुनु स्वभाविक हुने बताए। उनले कसै हलिया हुन, पद पाउन र लुटतन्त्रलाई बचाई राख्न एमाले छोडेको आरोप लगाए। प्रमुख पाण्डेले हिजो एमाले फुटाएर माले भएकाको हविगत हेर्न पनि सुझाव दिएका छन्।

एमाले सान्नि त्रिवेणीका अध्यक्ष सक्क बहादुर बमको अध्यक्षतामा सम्पन्न भेलामा एमाले प्रदेश कमिटी सदस्यद्वय भरतराज धिताल र वीरेन्द्र बहादुर बोगटी, जिल्ला पार्टी उपाध्यक्ष रमेश कुमार शाही, नेकपा एमाले सान्नी त्रिबेणि गाउँपालिका इन्चार्ज हेमराज संन्ज्याललगायतले आफ्ना कुराहरु राखेका थिए।