रावलको सट्टा सुदूरपश्चिमको इन्चार्जमा लेखराज भट्ट कायम



काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्ट नै दिने प्रस्ताव अघि सारेका छन्।

आइतबार बिहान बालकोटमा भएको छलफलमा अध्यक्ष ओलीले तत्कालिन इन्चार्ज भीम रावललाई उपाध्यक्षको हैसियतमा पार्टीको अन्य कामको जिम्मेवारी दिने भन्दै भट्टलाई नै इन्चार्जको रुपमा काम गर्न दिने प्रस्ताव अघि सारेका हुन्।

रावललाई उपाध्यक्षको हैसियतमै र भट्टलाई प्रदेश इन्चार्जको हैसियतमा जिम्मेवारी दिने तयारी गरेका छन्। अध्यक्ष ओलीले रावललाई उपाध्यक्षको हैसियतमा अरू पनि धेरै कामहरू हुने भएकाले सुदूरपश्चिमको जिम्मेवारीमा भट्टलाई नै दिने प्रस्ताव अघि सारेका हुन्।

ओलीको प्रस्तावसँगै रावलले आफू अन्यायमा परेको भन्दैं आफू निकट नेतासँग छलफलमा जुटेका छन्। सबै ठाउँमा जेठ २ कार्यान्वयन भए पनि सुदूरपश्चिममा मात्रै किन नहुनेभन्दै उनले आफू निकट नेतासँग आइतबार संसद भवनमा समेत छलफल गरेका थिए। छलफल पछि पत्रकारसँग रावलले कुरा गर्न चाहेनन्। उनी अझै छलफलमै रहेकाले के गर्ने भन्ने निष्कर्षमा नपुगेको उनी निकट नेताले बताएका छन्।

पुस ५ अघि रावल नै सुदूरपश्चिमका इन्चार्ज थिए। सर्वोच्चको फैसलापछि माओवादी र एमाले छुट्टा छुट्टै दल भएपछि एमालेमा लागेका भट्टलाई नै फागुन २३ गते ओलीले सुदूरपश्चिमको इन्चार्ज तोकेका थिए।

एमाले विवाद समाधान गर्न र विभाजन टार्न असार २७ मा ओली र माधव नेपाल समूहको १० सदस्यीय कार्यदलले १० बुँदे सहमति तयार गरेको थियो। नेपालले उक्त सहमति नमान्ने बताएपछि कार्यदलका सबै सदस्यहरू एमालेमै रहेका थिए भने माधव नेपालले नेकपा एकीकृत समाजवादी पार्टी खोलेका थिए।