२९ वर्षदेखि जेल जीवन बिताइरहेका गोञ्जालोको मृत्यु



काठमाडौँ। पेरु कम्युनिस्ट पार्टी (साइनिङ पाथ) का अध्यक्ष डा.अभिमायल गुज्मान रेनोसो (गोन्जालो) को ८६ वर्षको उमेरमा निधन भएको छ।

२९ वर्षदेखि जेलमा सडाइएका पेरु कम्युनिस्ट पार्टी (साइनिङ पाथ) का अध्यक्ष गोञ्जालोको मृत्यु भएको हो। सन् १९९२ मा राजधानी लिमाबाट गिरफ्तारीमा परेका गोञ्जालोलाई त्यहाँको विद्यमान सत्ताले आजीवन कारागारको सजाय सुनाएको थियो।

विगत २९ वर्षदेखि बन्दी जीवन बिताएका गोञ्जालोको जेलमा आजै मृत्युु भएको खबर छ। उनलाई विगत केही वर्षदेखि छालाको क्यान्सर देखिएको थियो।

को हुन् गोञ्जालो ?

पेरू कम्युनिस्ट पार्टी (साइनिङपाथ) का अध्यक्ष डा.अभिमायल गुज्मान रेनोसो (गोन्जालो) डिसेम्बर १९३४ मा एरक्वेपा, एन्डिज शृङ्खला, पेरूमा जन्मेका हुन्। सन्त अगस्तिन विश्वविद्यालय एरक्वेपाबाट दर्शनशास्त्रमा सन् १९६१ मा उनले विद्यावारिधि गरेका थिए। सन् १९६२–१९७४ सम्म दर्शनशास्त्र विभाग हवामांगा विश्वविद्यालय, आयाकुचो पेरूमा उनले १२ वर्षसम्म प्राध्यापन पनि गरे। उनको फरवरी १९६४ मा अगस्टा ला टोरेसँग वैवाहिक सम्बन्ध कायम भएकाे थियाे। विवाहकाे २६ वर्षपछि सन् १९९० मा अगस्टा ला टोरेको मृत्यु भयो।

सन् १९४५ मा भएको साम्राज्यवादी दोस्रो विश्वयुद्धमा फासिवादको पराजयको खुसीयालीमा पेरूका वामपन्थीहरूको आयोजनामा जुलुस निकालिएको थियो। कमरेड गोन्जालो पहिलोपटक त्यहीँबाट गिरफ्तार परेका थिए। सन् १९४६ मा कम्युनिस्ट योङ ब्रिगेडको सदस्यबाट उनको सङ्गठित राजनीतिक जीवन प्रारम्भ भएकाे मानिन्छ। उनले सन् १९५२ मा पेकपाका संस्थापक होसे मारिएतेगका केही कविताहरूको क्वेचो भाषामा अनुवाद र सन् १९५३ मा कम्युनिस्ट स्टडी सर्कल, एरक्वेपाको स्थापना पनि गरेका थिए।

सन् १९५६ मा ‘विषालु हावाविरुद्ध जुधौँ’ भन्ने उद्घोष गर्दै पेकपाको तत्कालीन नेतृत्वको विरोधमा गोन्जालो खरो उत्रिएका थिए। एरक्वेपा विश्वविद्यालयको छात्र सङ्घको अध्यक्षमा पनि निर्वाचित बनेका थिए। उनले सन् १९६५ मा चीन भ्रमण गरेका थिए।  गोन्जालो सन् १९६६ मा पेकपाको केन्द्रीय सदस्य, सन् १९६६ मा कम्युनिस्ट भएको आरोपमा पुनः गिरफ्तार तर विश्वविद्यालयमा विरोधपछि तीन दिनमा रिहा भए। सन् १९७५ मा उनी पेकपाको अध्यक्ष बने। सन् १९८१ बाट जनयुद्धको प्रत्यक्ष नेतृत्व गरे। सन् १९९२ मा उनी गिरफ्तार भएपछि विजयको सन्निकट पुगेको जनयुद्धले धक्का खाएकाे थियाे।