एमालेको स्थायी कमिटी बैठक बस्दै



काठमाडौँ। प्रमुख प्रतिपक्षी नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा विहान ९ बजे बैठक बस्न लागेको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। बैठकमा विधान महाधिवेशनका लागि प्रतिनिधि, दस्ताबेज र व्यवस्थापन तयारीबारे छलफल हुने एजेण्डा छ।

एमालेले असोज ४, ५ र ६ गते काठमाडौंमा विधान महाधिवेशन गर्दै छ। एमालेले त्यसका लागि विधान संशोधनको मस्यौदा तल्लो कमिटीमा पठाएको थियो। तल्लो कमिटीले विधान संशोधनका सन्दर्भमा सुझाव पठाइसकेको उनको भनाइ छ। यस्तै आजको बैठकमा संसदमा पार्टीको भूमिकाका विषयमा छलफल हुने उनको भनाइ छ।

सभामुख अग्नि सापकोटाले आफ्नो पार्टी फुटाउन‘भूमिका खेलेको भन्दै भदौ २३ गतेबाट सुरु भएको संसद अधिवेशनमा एमालेले लगातार अवरोध गर्दै आएको छ । तर एमालेको अवरोधका बीच सभामुख सापकोटाले संसदको काम कारबाही अगाडि बढाएका छन्। स्थायी कमिटी बैठकले यसबारे गम्भीर समिक्षा गरेर अगामी रणनीति बनाउने तामाङले बताए।