काठमाडौँ। हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र पशुपतिनाथको मन्दिर भक्तजनहरूका लागि खुला गरिएको छ।
कोरोना भाइरस महामारीको जोखिमका कारण ४ महिनादेखि बन्द रहेको पशुपतिनाथको मन्दिर आज (शुक्रबार) बिहान ६ बजेबाट भक्तजनहरूका लागि खुला गरिएको हो। पशुपतिनाथको मुख्य मन्दिर खुलेपछि पाशुपत क्षेत्रमा रहेका गुह्वेश्वरीलगायतका मन्दिरहरू पनि खुला भएका छन्।
मन्दिरमा दर्शन गर्न जाने भक्तजनहरूले मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने, सामाजिक दूरी कायम गर्नुपर्ने र एकपटकमा २५ जना भक्तालुहरुलाई मात्रै मन्दिर प्रवेश गराइने पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
कोरोना भाइरसको तेस्रो लहर आएको भन्दै गत वैशाख १० गतेबाट भक्तजनहरूका लागि बन्द गरिएको मन्दिरमा पुजारीहरूले दैनिक नित्य पूजा मात्रै गर्दै आएका थिए। कोरोना महामारीको जोखिमका कारण लामो समय बन्द गरिएको पशुपतिनाथको मन्दिरमा बिहीबार क्षमापूजा गरिएको थियो।