जुम्ला। नेपाली कांग्रेस जुम्लाका संगठन विभाग प्रमुख लक्ष्मण शाहीले जुम्लाका ८ वटै स्थानीय तहमा सहमतिका आधारमा नेतृत्व चयन गर्न गर्न अनुरोध गरेका छन्।
नेता शाहीले ‘गुट होईन, संगठन निर्माण गरौ, तिक्तता होइन, मित्रता रोजौं, नेपाली कांग्रेस जुम्लाको जिल्ला अधिवेशन भब्यताका साथ सफल पारौं’ भन्ने नारालाई साकार पार्न जिल्लाका नेता कार्यकर्तालाई अनुरोध गरेका हुन्।
कर्णाली सन्देशसँगको कुराकानीमा नेता शाहीले भने, ‘नेपाली कांग्रेसको १४औं महाधिवेशन औपचारिक रूपमा प्रारम्भ भएको छ। वडा तहदेखि अधिवेशनको प्रकृया आरम्भ भएर केन्द्रीय महाधिवेशनसम्म एउटा आकर्षक सांगठनिक पिरामिड निर्माण हुने गौरवशाली वैधानिक परम्पराको श्रीगणेश सुरुभै जुम्ला जिल्लाका ६० वटै वडामा सहमतिका साथ अधिवेशन सफल भएको छ।’
उनले अगाडि भने, ‘७ वटै गाउँपालिका र चन्दननाथ नगरपालिकामा सहमति, सहकार्य, एकताका साथ सबै अधिवेशन सफलतापूर्वक सम्पन्न हुनेछन्। मेरो अनुरोध पनि यहि छ। वडा तहदेखि नै पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई मित्रवत बनाउँदै आपसी एकता र विश्वासमा आधारित नेपाली कांग्रेसको आगामी गति र परिचालनले मुलुकको भाग्य र भविष्य कोर्नु पर्नेछ।’
‘कांग्रेसमा अघिल्लो पुस्तालाई सम्मान र पछिल्लो पुस्तालाई स्थान’ को बारेमा विगतदेखि नै बोल्दै आउनु भएको छ, के यो सम्भव छ ? भनेर सोधिएको प्रश्नका जवाफमा शाहीले भने, ‘एकदम सम्भव छ। समय परिस्थिति र प्रविधिको विकासलाई कांग्रेसका नेता कार्यकर्ताहरुले समयमै बुझ्न सक्नुपर्छ। देशका विभिन्न भागमा सम्पन्न भएका वडा अधिवेशनबाट नयाँ अनुहारहरु आएको समाचारहरु छन्।
लोकतान्त्रिक व्यवस्थाको औचित्य र गरिमालाई उच्च राख्नुलाई पनि युवा पुस्ताको खाँचो छ। पार्टी, लोकतन्त्र र सिंगो राष्ट्रको वहु-आयामिक भविष्य निर्माणको जगमा उभिएका तमाम क्रियाशील साथिहरूको सुझबुझपूर्ण निणर्य देखेर म धेरै खुशी छु।’
उनले अगाडि भने, ‘लोकतन्त्रवादीहरुको रगतले सिंचित रक्तरन्जित चारतारे झन्डा हाम्रो शान, मान र गरिमालाई उचो राख्दै पार्टीभित्र अघिल्लो पुस्ताको सम्मान युवा पुस्ताको साथ र पछिल्लो पुस्ताको आकर्षणमा मात्रै कांग्रेस पार्टी जीवन्त रहने विश्वासका साथ पार्टीको १४औं अधिवेशनको तयारीमा छौं। नवीन विचार, उदार मनोभावना, कुशल संगठक, उर्जाशिल क्षमता र नैतिकवान व्यक्तित्वहरुको चयन पार्टीको भविष्यसँग जोडिएको विषय हो। गुट निहित स्वार्थका लागि बनेका अस्थायी संरचाना हुन्। त्यसैले हामी मजबुत र स्थायी कांग्रेसका लागि व्यक्ति प्रधानता हैन, विचारको प्रधानतालाई आत्मा सम्झने साथीहरु एक ठाउँमा उभिन जरुरी छ।’