हरितालिका तीज: संस्कृति र विकृति



कोहलपुर। हरितालिका तीज भाद्र शुक्ल तृतीयाका दिन हिन्दु महिलाहरूले मनाउने चाड हो। तीज दक्षिण एशियाका नेपाल, भारत, भुटान, म्यानमारलगायतका देशहरूमा मनाउने गरिन्छ।

तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ। नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन्। भनिन्छ, आद्य शक्ति भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो बर्त राखेकी थिइन् त्यसै दिनदेखि आजसम्म हिन्दू नारीहरूले हरितालिका तीज पर्व मनाउदै आएका छन्।

तीजको दिनका अतिरिक्त गणेश चतुर्थी र ऋषिपञ्चमीलाई पनि तीज पर्वकै रूपमा मनाइन्छ। खास गरी यसमा स्त्रीहरूले पतिको निम्ति निराहार रहेर भगवान शिव तथा आद्य शक्ति पार्वतीसँग प्रार्थना गर्दछन्। यो दिन महिलाहरू विहान चाँडै उठी नुहाई धुवाई गरेर दिनभरि जल, अन्न ग्रहण नगरी बर्त बस्ने गर्दछन्। बेलुकीपख घर, गाउँ र छिमेकका महिलाहरू भेला भई पूजाका सामान तथा मण्डप तयार गरी भगवान शिवको आराधना गर्ने प्रचलन रहेको छ। निर्जला बर्त भनिए पनि आजभोलि महिलाहरू मध्यान्हमै पूजा, आराधनापश्चात् फलफूल ग्रहण गर्ने गर्दछन्। कतिपय महिलाहरू नजिक रहेको शिवमन्दिरमा गई शिव आराधनाका साथै नाचगान तथा रमाइलो गर्ने गर्दछन्।

आज भदौ २४ गते नेपाललगायत विभिन्न देशहरूमा तीज पर्व मनाइँदैछ। विगतका वर्षहरूमा धुमधामका साथ मनाइँदै आएको यो पर्व अघिल्लो सालदेखि कोरोना महामारी र निषेधाज्ञाका कारण घरभित्रै वा टोलमै सिमित रहेको छ भन्दा फरक नपर्ला। तीज संस्कृति त हुँदै हो तर, केही वर्षयता संस्कृतिको नाममा केही विकृत दृश्यहरु पनि देखिंदै आएका छन्।

संस्कृति

परापूर्वकालदेखि नै महिलाहरू विहान चाँडै उठी नुहाई धुवाई गरेर दिनभरि जल, अन्न ग्रहण नगरी बर्त बस्ने, श्रीमानको नाममा व्रत बस्ने, चेलीबेटीहरू माइतमा उपस्थित भएर आफूले पाएका दुःखकष्ट आमालाई सुनाउने, दुखेसो पोख्ने, गीतमार्फत नै आफ्ना दुःख व्यक्त गर्ने, वर्षौंदेखि भेट नभएका सङ्गीसाथी भेट्ने र आफ्नो दुःख भुलाएर नाचगान गरेर रमाइलो गर्ने चाँडको रूपमा हरितालिका तीज मनाउने गरिन्छ। तीजको अघिल्लो दिनलाई दर खाने दिन भनिन्छ। त्यसदिन आमाले आफ्नी छोरीचेलीलाई मिठामिठा परिकार बनाएर खुवाइने चलन चलिआएको छ। आधुनिक समाजमा तीजको महत्त्वलाई जुन रूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो।

विकृति

आजभोलिको बदलिँदो समाजले यो पर्वलाई विकृत बनाउन थालेको छ। अचेलका महिलाहरू दरका नाममा विभिन्न पार्टीप्यालेसहरूमा जम्मा भएर मदिरा सेवन गर्ने, हो हल्ला गर्ने जस्ता काम गर्छन्। महिलाले मनाउने तीज महिलालाई भन्दा बढी पुरूषलाई लागि रहेको हुन्छ। सदियौंदेखि चलिआएको परम्परालाई नराम्रो बाटोमा मोडिरहेका छन्। कुनै समय आमाछोरीको, श्रीमानश्रीमतीको माया दर्शाउने तीज आजभोलि भड्किलोपना र खर्चिलोपनामा उत्रेको छ। यी र यस्ता विविध कारणहरूले तीजमा विकृति बढ्दै गएको देखिन्छ।

गीतसंगीत विकृतिको माध्यम

हरेक वर्ष तीजको नाममा सयौं गीत उत्पादन हुने गरेका छन्। कुनै गीत सफल हुन्छन्, कुनै असफल। कुनै गीतको बिरोध हुन्छन्, कुनै गीत बिरोध बिनै चर्चित हुन्छन्। कोरोना महामारीका बीच यस वर्ष पनि सयौं गीतहरू उत्पादन भएका छन्। कतै युगल आवाज त कतै सिंगल आवाजमा गीत निस्किएका छन्।

तीज पर्व संस्कृति भएपनि आजभोलि तीजकै नाममा गीतसंगीतको विकृत व्यापार हुने गरेको छ। कतिपय कलाकारहरूले आफू मनलाग्दी गीत उत्पादन गरेर तीजको अस्तित्व ओझेलमा पार्ने काम गरेको देखिन्छ। त्यस्ता गीतले न त तीजको मर्म बुझेको हुन्छन् न त समाजमा सुन्न र हेर्न सकिने नै हुन्छन्।

हरेक वर्ष कुनै न कुनै गीत विवादित हुने क्रममा यो वर्ष पनि केही गीतहरू विवादित बनेका छन्। कुनै गीत शब्द छनोटका कारण त कुनै भिडियो चोरीका कारण विवादित बनेका छन् भने कुनै गीत बिना विवाद वर्षकै सर्वाधिक हेरिएको गीत बनेको छ। यी गीतहरूको बारेमा चर्चा गरौं।

दुर्गेश थापा र उनको गीत ख्यास्स पुतली

यस वर्ष सबैभन्दा बढी विवाद र बिरोधमा परेको गीत हो मोडल दुर्गेश थापाको तीजको नाममा निकालिएको गीत ‘ख्यास्स पुतली’।
उनले गीत निर्माण गर्दा शब्द छनोटमा ख्याल नगरेको, उत्ताउलो गीत बनाएको, सामाजिक संवेदनालाई वेवास्ता गरेको जस्ता आरोपहरू लागेका छन्। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले धेरैपटक उनको गीत सम्पादन गर्न अनुरोध गर्दापनि थापाले अटेर गरेपछि उनलाई बहिस्कार र प्रतिष्ठानको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ। थापाले उल्टै प्रतिष्ठानका पदाधिकारीहरूलाई आरोप लगाउँदै आए भने प्रतिष्ठानले गरेको बहिस्कार विरूद्ध बहिष्कार नामक गीत नै प्रस्तुत गरे।

दुर्गेश थापाको विवादित गीत ख्यास्स पुतली (भिडियो)

 

पशुपति शर्मा, राजु ढकाल, अर्जुन सापकोटा र यज्ञ सापकोटाको दाजुभाइ तीज

अर्जुन सापकोटा र यज्ञ सापकोटाले संकलन गरेर उत्पादन गरेको गीत दाजुभाइ गीत पनि यो वर्ष विवादित बन्यो। चर्चित गायकहरू पशुपति शर्मा, राजु ढकाल, यज्ञ सापकोटा र स्वयं सापकोटाको आवाज र अभिनय गरेको गीतको भिडियोमा देखिएको केही अंश अर्को गीतको भिडियोबाट हुबहु कपी गरेको आरोपमा विवादित बनेको हो।

भिडियो सम्पादक अनिल रानाले राजु आरडीको दमौली काटेर लम्जुङ्ग गीतको भिडियोबाट केही अंश सापकोटाको गीतको भिडियोमा हुबहु कपी गरेका थिए। विवादपछि दाजुभाइ तीज गीत पुनःसम्पादन गरेर ल्याइएको छ।

विवादित गीत दाजुभाइ तीज (भिडियो)

कुनै विरोध र विवादबिनै पनि गीत चर्चित हुन्छ भन्ने एउटा उदाहरण हो विष्णु माझीको तीज गीत ‘चरि जेलैमा’। सुन्दरमणी अधिकारीको लयशब्दमा बनेको यो गीत यो लेख तयार पार्दासम्म १ करोड ७७ लाखले हेरेको देखिन्छ। यस वर्ष युट्युबमा सर्वाधिक हेरिएको तीजको गीत नै यहि बनेको छ। यद्यपि यो गीत पनि सामाजिक सञ्जालहरूमा ट्रोल बनेको छ।

विष्णु माझीको तीज गीत चरि जेलैमा (भिडियो)