एमसीसीकी उपाध्यक्ष सुमार नेपाल आउँदै



काठमाडौँ। सरकाले सोधेका प्रश्नको जवाफ दिएसँगै अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कि उपाध्यक्ष फतिमा सुमार नेपाल आउँदैछिन्।

फतिमा सुमार बिहीबार बिहान कतार हुँदै नेपाल आउन लागेकी हुन्। नेपालमा एमसीसी परियोजना स्वीकार गर्ने कि नगर्ने भन्ने बहस भइरहेको बेला हुन लागेको यो भ्रमणलाई चासोका साथ हेरिएको छ। चारदिने नेपाल बसाइँको क्रममा उपाध्यक्ष सुमारले एमसीसी परियोजना कार्यान्वयनको अवस्थाबारे विभिन्न पक्षहरुसँग कुराकानी गर्ने छन्। उनले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मालगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम छ।

सन् २०१९ मा नै कार्यान्वयनमा आउनुपर्ने एमसीसी परियोजना नेपालमा राजनीतिक खिचातानीका कारण अझै अगाडि बढ्न सकेको छैन। हालै मात्र नेपाल स्पष्ट हुन खोजेका बुँदाहरुको जवाफ एमसीसीले पठाएको छ।

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले सरकारले सोधेका सबै प्रश्नको जवाफ दिएको हो। एमसीसीको डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्सकी उपाध्यक्ष फातेमा जे सुमारले अर्थमन्त्री जनार्दन शर्मालाई पत्र लेख्दै जवाफ पठाएकी छन्। पत्रमा एमसीसीभित्र कुनै लुकेको एजेन्डा नभएको र यसबारे गलत हल्ला फैलाइएको स्पष्ट पारिएको छ।

नेपालले सोधेको प्रश्नको जवाफ दिदै नेपालमा प्रचार भएजस्तो हिन्द प्रशान्त रणनीतिको सम्बन्धमा नेपालको कुनैपनि निर्णय एमसीसी नेपाल कम्प्याक्टबाट अलग र स्वतन्त्र रहेको दाबी गरिएको छ। एमसीसीले पठाएको जवाफमा सम्झौता नेपालको संविधानभन्दा माथि नरहेको समेत दाबी गरिएको हो।

‘नेपालको संविधान एमसीसी नेपाल कम्प्याक्ट भन्दा माथि छ। सवै एमसीसी साझेदार देशहरुसँग सम्पन्न भएका एमसीसी कम्पयाक्ट अन्तराष्टिय कानुनका सिद्धान्तहरुद्धारा निर्देशित अन्तर्राष्ट्यि सम्झौता हुन्’, नेपाललाई पठाएको जवाफमा एमसीसीले भनेको छ। एमसीसीको जवाफः प्रथमतः एमसीसीलाई लागु हुने अमेरिकी कानुन मिलेनिएम च्यालेन्ज ऐन २००३ ले कुनै पनि सैन्य प्रयोजनका निम्ति अनुदान कोषको प्रयोग गर्नबाट एमसीसीलाई निषेध गरेको छ। यस कानुनी बन्देजका बारेमा कम्प्याक्ट स्पष्ट छ। तसर्थ, यस कम्प्याक्ट र कुनै सैन्य गठबन्धन वा सुरक्षा रणनीतिका बीच कुनै सम्बन्ध छैन।

कम्प्याक्टका लागि योग्य ठहर्याई साझेदार चयन गर्ने एमसीसीको प्रक्रिया वैधानिक रूपमा निर्धारित मापदण्डहरूमा आधारित भएको एमसीसीले दाबी गरेको छ। ‘जसमा सैन्य पक्ष समावेश हुँदैन। एमसीसीको सञ्चालक समितिबाट कुनैपनि देश छनौटका लागि योग्य हुन (१) विश्व बैङ्कद्वारा न्यून आय वा न्यून–मध्यम आय भएको देशको रूपमा वर्गीकृत भएको हुनुपर्छ र (२) न्यायसंगत र लोकतान्त्रिक शासन, जनतामा लगानी र आर्थिक स्वतन्त्रतामा आधारित एमसीसीको वार्षिक सूचकाङ्कको स्कोर कार्डमा उत्तीर्ण हुनुपर्दछ। यी आधारहरू एमसीसीले प्रत्येक वर्ष सार्वजनिक रूपमा उपलब्ध हुने गरि प्रकाशित गर्ने निम्न प्रतिवेदनहरूमा उल्लेखित हुन्छन् र सबै देशहरूका लागि समान रूपमा लागु हुन्छन्’, एमसीसीको जवाफमा भनिएको छ।