कालिकोटका बहुमत जनप्रतिनिधि एकीकृत समाजवादीमा



कालिकोट। नेकपा एमाले परित्याग गरी ६५ जना जनप्रतिनिधिहरुले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन्।

नेकपा (एकीकृत समाजवादी) मा सनाखत गर्नेमा जिल्लाको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर बिष्ट, शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईं रहेका छन्।

खाँडाचक्र नगरकी उपप्रमुख बिजया बिष्ट र शुभकालिका गाउँ पालिका उपाध्यक्ष पम्फाकुमारी शाही रहेकी छन्। एमालेले जितेका पाँच मध्ये चार जना जनप्रतिनिधिहरुले एकीकृत समाजवादीमा सनाखत गरेका हुन्।

त्यस्तै वडा अध्यक्षहरु डबल बोगटी, रत्नलाल न्यौपाने, मणि सिम्खडा, लोकबहादुर बिष्ट, केशन शाही, रामबहादुर शाही, कर्ण खत्री, धनसिंह विक, धर्मराज शाही महावै (५), धर्मराज शाही तिलागुफा (६), जगदिश शाही, आदिचन्द्र चौलागाईंले पनि एकीकृत समाजवादीमा सनाखत गरेका छन्।

केही वडा सदस्यहरुलगाएत कार्यपालिका सदस्यसमेत गरी ६५ जनाले एमाले त्यागेर समाजवादी पार्टीमा लागेका छन्। कालिकोटमा कुल संख्याको बहुमत जनप्रतिनिधिले एकीकृतमा सनाखत गरेको नेकपा (एकीकृत समाजवादी) का नेता चित्रसिंह गाउँलेको भनाई छ।

उनले सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन्, ‘स्वतन्त्रबाट जाँतो चिन्ह लिएर निर्वाचित भए पनि एकीकृत समाजवादी रोज्ने महावै २ कि वडा अध्यक्ष गौंकला सिंह र निर्वाचन आयोगको समयसीमा सकिदै गर्दा सनाखत गराउन नपाइएका अन्तरमन र आस्था हामीमै रहेका केही अन्य जिम्मेवार जनप्रतिनिधिहरुबाट हामीलाई सहयोग रहनेनै छ।’