६ जनाको बीभत्स हत्याको कारण खोज्दै प्रहरी



काठमाडौँ। संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा सामुहिक हत्या गरिएका ६ जनाको ‘लाश जाँच प्रकृति मुचुल्का’ गरिएको छ। प्रहरीले तालिम प्राप्त कुकुर परिचालन गरेर घटनास्थलको अनुसन्धान गरेको थियो।

सोमबार मृत फेला परेका मादी–१ उम्लिङका ५२ वर्षीय तेजबहादुर कार्कि समेत ६ जनाको टाउकोमा चोट देखिएको छ। संघीय प्रहरी इकाइ कार्यालय धरानबाट घटनास्थलमा खटिएका प्रहरी उपरिक्षक (एसपी) भिम दाहालले भने–‘सवैको टाउकोमा चोट देखिएको छ।’ ह्यामर जस्ता गह्रौं वस्तुले हिर्काएर सामुहिक हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ।

सोमबार राती पुगेका अनुसन्धान अधिकारीहरुले घटनास्थलमा ‘डग स्निफिङ’ गराएका छन्। घटनास्थल अनुसन्धान गर्न जमर्न सेफर्ड जातका लैला र पिपु नामका कुकुर परिचालन गरिएको थियो।

‘ट्रयाकर डग’ले गरेको संकेत र सम्भावित सवै कोणबाट अनुसन्धान भइरहेको एसपी दाहालले बताए। मादी नगरपालिका–१ घर भएका तेजबहादुर कार्की, आमा पार्वती, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षीय विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो। तेज बहादुरकी आमा ८४ वर्षीया पार्वती, पत्नी कमला र बुहारी रञ्जनाले सुनका गहना लगाएका थिए। उनीहरुले लगाएको सवै गहना शवसँगै फेला परेको एसपी दाहालले बताए।

शव पोष्टमार्टमका लागी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ल्याउने तयारी भइरहेको छ। शव घरबाहिर चार ठाउँमा फेला परेको छ। ८ वर्षीय बालकको शव घरभन्दा पर बारीमा फेला परेको छ।

रञ्जन कार्कीको शव खोलामा र ५२ वर्षीय तेज बहादुरको शव सडकमा फेला परेको प्रदेश–१ प्रहरी कार्यालयका प्रवक्ता (एसपी) नविनराज राईले रातोपाटीलाई बताए। परिवारका एकजना सदस्य जिवित फेला परेका छन्। बौद्धमान कार्की सकुशल फेला परेका हुन्।