वडाभन्दा पहिले प्राथमिक स्वास्थ्य केन्द्रको भवन बनाएँ: अध्यक्ष चौधरी 



कैलाली। कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा सुविधायुक्त स्वास्थ्य केन्द्रको भवन निर्माण भएको छ। स्थानीय नागरिकको समस्यालाई ध्यान दिँदै कोइली भुरुवा आधारभुत स्वास्थ्य केन्द्रको भवन निर्माण गरिएको हो।

भवन निर्माणको कार्य लगभग सकिएको र हस्तान्तरणको कार्य पूरा भएपछि नयाँ सुविधायुक्त भवनबाट नागरिकलाई सेवा प्रदान गरिने वडा नम्बर ५ कि वडा अध्यक्ष श्याम कुमारी चौधरीले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘स्थानीय नागरिकको पीडा र समस्यालाई मध्यनजर गरि स्वास्थ्य केन्द्रको भवन निर्माणकार्य अगाडि सारेका थियौं, अब यो अन्तिम चरणमा छ, अबको केही दिनभित्र नै नागरिकले सुबिधायुक्त भवनबाट सेवा पाउनेछ्न्।’

स्वास्थ्यको अनुदान र गाउँपालिकाको गरि करिब ४८ लाखको लागतमा भवन निर्माणको काम भएको हो। केही महिना अधिमात्रै वडा नम्बर ५ मा स्थानीयलाई समान्य उपचारका लागि अन्यन्त्र जानुपर्ने बाध्यतालाई ध्यानमा राखी कोइली भुरुवा आधारभुत स्वास्थ्य इकाई संचालन गरिएको थियो। सानो कोठा र ठाउँबाट सेवा दिदा नागरिकलाई बाहिर जानुपर्ने बाध्यता हटेपनि भौतिक पुर्वाधारको समस्याले गुणस्तरीय सेवा दिन नसकिएकोमा अब आफ्नै भवन बनेपछि निकै सहज हुने वडा अध्यक्ष चौधरीले बताउनुभयो।

उहाँले नागरिकको स्वास्थ्य सेवालाई प्राथमिकतामा राखी वडा कार्यालय भन्दा पहिला स्वास्थ्यको भवन निर्माणमा जोड दिएको र त्यो पूरा भएको बताउनुभयो। उहाँले अब बर्थिङ सेन्टरसहितको नागरिकले सेवा लिन पाउने जानकारी समेत दिनुभयो।

यसैगरी त्यहाँ सञ्चालित स्वास्थ्य इकाइबाट करिब साढे दुई महिनाको अबधिमा साढे ७ सय जना बढीले सेवा लिएका छ्न्। इकाइबाट साउनमा र भदौमा गरि ७२० जनाले सेवा लिएको इन्चार्ज जगरती चौधरीले बताउनुभयो। स्वास्थ्य केन्द्रबाट स्थानीयले खोप, परिवार नियोजन, सुरक्षित मातृत्व, क्षयरोग नियन्त्रण सेवा, झाडापखालालगायतका सम्पूर्ण स्वास्थ्यसम्बन्धी सेवा पाउन थालेका छन्।