परराष्ट्रको कुटनीतिक नोट दिल्लीमा



काठमाडौँ। दार्चुलाको जयसिंह धामी प्रकरणमा नेपाल सरकारले पठाएको कुटनीतिक नोट भारतीय दूतावासले सोमबार नै भारतस्थित विदेश मन्त्रालयलाई पठाएको छ।

नेपाल सरकार परराष्ट्र मन्त्रालयका अधिकारीका अनुसार सोमबार परराष्ट्र मन्त्रालयले काठमाडौँस्थित भारतीय दूतावासलाई कुटनीतिक नोट पठाएको थियो । दूतावासले सोमबार नै दिल्लीस्थित भारत सरकारको विदेश मन्त्रालयलाई कुटनीतिक नोट पठाएको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ।

यसअघि गृह मन्त्रालयले सहसचिव जनार्दन गौतमको संयोजकत्वमा बनाएको छानविन समितिले भारतीय सीमा सुरक्षा बल (एसएसबी) को उपस्थितिमा तुइन चुँडिएकाले एसएसबीका अधिकारीमाथि छानविनका लागि सिफारिस गरेको थियो । सोही आधारमा परराष्ट्र मन्त्रालयले भारतीय दूतावासलाई कुटनीतिक नोट पठाएको हो।

परराष्ट्रका अधिकारीहरुका अनुसार सोमबार दूतावासलाई कुटनीतिक नोट पठाएको हो। दार्चुलाको तुइन प्रकरणबारे कारवाही प्रक्रिया अघि बढाउन विभिन्न राजनीतिक दलका नेताहरुले सरकारलाई दबाब दिँदैआएका छन्।