काठमाडौँ। संसदमा टेवुलका लागि तयार गरिएको भनिएको अमेरिकी सहायता कार्यक्रम एमसीसीका बारेमा संयुक्त विद्यार्थी संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सोमबार अखिल क्रान्त्किारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली र अखिल (छैठौं) का अध्यक्ष विमल पोखरेलको हस्ताक्षेर रहेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारले अमेरिकी परियोजना एमसीसी पास गर्ने तयारी गरेकोप्रति संयुक्त विद्यार्थी संगठनको गम्भीर ध्यानाकर्षण भएको छ। एमसीसी सम्झौतामा राष्ट्रहित विपरीत, देशको सार्वभौमसत्तामाथि प्रश्न उठाउने कैयौं प्रावधानहरु रहेका छन्।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘अमेरिकी सरकारी अधिकारीहरुले एमसीसी परियोजना इण्डोप्यासिफिक रणनीतिको अङ्ग हो भनेर बारम्बार अभिव्यक्तिहरु दिएका छन्। एमसीसीका पारित गर्न दबाब दिनको लागि एमसीसीका उच्च पदाधिकारीहरु नेपालमा आउने समाचार प्रकाशित भएका छन्। नेपालका राजनीतिक शक्तिमाथि विभिन्न दबाब दिएर एमसीसी नेपालमाथि जबर्जस्ती लाद्ने प्रयत्न भएको छ। कुनै पनि विदेशी सहयोगहरु जबर्जस्ती लादिने विषय होइनन् भन्ने हाम्रो प्रष्ट मान्यता रहेको छ।’
एमसीसीमा भएका राष्ट्रघाती बुँदाहरु खारेज गर्न अनुरोध गर्दै संयुक्त विद्यार्थी संगठनले जबरजस्ति एमसीसी अगाडि नबढाउन माग गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘एमसीसी परियोजनाका विरुद्धमा देशमा ठूलो जनमत रहेको र सम्पूर्ण देशभक्त शक्तिहरु निरन्तर संघर्षमा रहेको कुरा निर्विवाद छ। नेपालको विद्यार्थी आन्दोलनले एमसीसीमा रहेका राष्ट्रहित विपरीतका सम्पूर्ण प्रावधानहरु खारेज गर्न माग गर्दछ। एमसीसी परियोजनाले देशको सार्वभौमसत्तामाथि आँच पुग्नेछ भने असंलग्न परराष्ट्रनीतिलाई खण्डित गर्नेछ। जोर जबर्जस्तीपूर्ण ढंगले एमसीसी परियोजना अगाडि नबढाउन र त्यसरी अगाडि बढाइएमा कडा प्रतिकार गर्ने र संघर्षलाई अगाडि बढाउने चेतावनी दिन चाहन्छौं।’