खनालको निर्वाचन क्षेत्रका ५६ जनप्रतिनिधि एकीकृत समाजवादीमा



काठमाडौँ। नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालको निर्वाचन क्षेत्रका ५६ जनप्रतिनिधिले एकीकृत समाजवादी पक्षमा सनाखत गरेका छन्।

सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई र माइजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राईसहित जिल्लाका ५६ जना स्थानीय तहका जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्। उनीहरूले आज जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भएर हस्ताक्षर गरेका हुन्।

सूर्योदय नगरपालिकामा एमालेबाट निर्वाचित एक जना वडाध्यक्ष र उपप्रमुख बाहेकका ४३ जनाले समाजवादीमा रहने गरी सनाखत गरेका छन्। देउमाई नगरपालिकाका एक जना वडा सदस्य हेम लिम्बू, इलाम नगरपालिका, माङसेबुङ गाउँपालिकाको सदस्यले समेत सनाखत गरेको युवा संघका उपमहासचिव सन्दीप राईले जानकारी दिए।

सनाखत गर्नेहरूको पूर्ण विवरण आउन बाँकी रहेको उनले बताए। प्रदेश सांसद खिनु लङ्वाले एकीकृत समाजवादीमा रहने गरी हस्ताक्षर गरिसकेकी छन्।