काठमाडौँ। सोमबार शेयर बजार उच्च दरमा उकालो लागेको छ।
एकैदिन परिसूचक १६२ अंकले बढेर शेयर बजार बन्द भएको छ। साताको पहिलो दिनमा १०८ दशमलव २६ अंकले घटेर २ हजार ८ सय १८ दशमलव ७२ अंकमा झरेको बजार दोस्रोे दिनमा भने उच्च अंकले वृद्धि भएको हो।
सोमबार शेयर बजार १६१।९४ अंकले बढेर २९ सय ८० दशमलव ७९ अंकमा पुगेर बन्द भएको छ। अर्थमन्त्री जनदार्दन शर्माले शेयर बजारमा रहेको समस्या समाधान गर्न गभर्नर महाप्रसाद अधिकारीलाई अनुरोध गरेको खबर सार्वजनिक भएपछि बजारमा ठूलो उछाल देखिएको हो।
राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले सोमवार बिहान गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गरेका थिए । कुराकानीका क्रममा अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार गभर्नर अधिकारीले प्रक्रिया लिएर बजारलाई परेको अप्ठेरो फुकाउने जानकारी अर्थमन्त्रीलाई गराएका छन् । अर्थमनत्रीले पहल थालेको खबर बाहिरिएकाले सोमबार कारोबार खुलेदेखि नै शेयरबजारमा हरियाली थियो । केही घटबढ भइरहेको शेयर बजार अर्थमन्त्रीको पहलको खबर सार्वजनिक भएपछि लगातार उकालोतिर लाग्यो ।
बजारमा सोमबार ९ अर्ब ८२ करोडको शेयर कारोबार भयो । सोमबार मात्रै बजार ५ दशमलव ७४ प्रतिशतले बढेको छ । बजारका सबै उपसमूह हरियो रहे ।
राष्ट्र बैंकले एक बैंक तथा वित्तीय संस्थाबाट ४ करोड रुपैयाँ र एक व्यक्तिले बढीमा १२ करोड रुपैयाँमात्रै शेयर धितोमा ऋण लिन सक्ने नियम बनाएपछि बजार प्रभावित भएको लगानीकर्ताले बताउँदै आएका छन्। यसअघि यस्तो सीमा तोकिएको थिएन।
मौद्रिक नीतिका व्यवस्थाले बजारमा निकै ठूलो नकारात्मक असर पार्ने भन्दै लगानीकर्ताहरुले पुँजी बजार सुधार संघर्ष समिति नै गठन गरेका छन्।समितिले आज प्रदर्शनसहित राष्ट्र बैंक पुगेर ज्ञापनपत्र नै बुझाएको छ। यही दिनमा बजार पनि उच्च अंकको वृद्धि लिएर बन्द भएको छ।