पन्जशीरबाट अपदस्थ उपराष्ट्रपति सालेह भागे



काठमाडौँ। तालिवानीले अहिलेसम्म कब्जा गर्न नसकेको अफगानिस्तानको पन्जसिर प्रान्तस्थित रेजिस्टेन्स फोर्स (तालिबान प्रतिरोधी समूह) का अड्डाहरूमा हवाई हमला गरिएको छ। अफगान सञ्चारमाध्यमका अनुसार हमला पाकिस्तानी पाइलटले गरेको आशंका छ।​

पन्जसिरमा रेजिस्टेन्स सेनाको नेतृत्वकर्ता एवं अफगानिस्तानका अपदस्थ उपराष्ट्रपति अमरुल्लाह सालेह बसेको घरमा आइतबार हवाई हमला गरिएको हो। त्यसपछि सालेह​​ ताजिकिस्तान भागेका हुन्। तालिबानविरोधी समूहका अर्का नेतृत्वकर्ता अहमद मसुद भने पन्जसिरकै कुनै सुरक्षित स्थानमा छन्।

पाकिस्तानको सीएच–फोर ड्रोनले पन्जसिरस्थित एक गाडीमा क्षेप्यासत्र हानेको छ। यसमा परी रेजिस्टेन्सका प्रवक्ता फहिम दश्ती र अन्य पाँच लडाकु मारिएका छन्। दश्ती पेसाले पत्रकार थिए र अगस्ट १५ सम्म उनी काबुल डेलीका सम्पादक थिए। आइतबारको युद्धमा तालिबानबाट पन्जसिरका धेरै जना शीर्ष नेता मारिएका छन्।