एमसीसी सम्झौता संशोधन गर्ने अमेरिकी संकेत



काठमाडौँ। अमेरिकाले नेपालसँगको एमसीसी सम्झौता संशोधन गर्ने सङ्केत देखाएको छ।

नेपालले राखेको चासोलाई सम्बोधन गर्दै अमेरिकाले सम्झौता परिमार्जन गरेपछि राष्ट्रिय सहमतिका आधारमा सम्झौता अनुमोदन गर्ने नेपाल सरकारको तयारी छ।

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० र नेपाल सरकारबीच चार वर्षअघि भएको उक्त सम्झौता नेपालमा व्यापक विरोध र विवादित भएपछि अमेरिका सम्झौता संशोधन गर्ने पक्षमा आइपुगेको नेपाली पक्षको बुझाइ छ। सोही अनुसार नेपाली पक्षको मागबमोजिम नै अमेरिकाले सम्झौतामा भएका कुन–कुन प्रावधान संशोधन गर्नुपर्ने हो भनेर सोधेको उच्च स्रोतले बतायो।

परिमार्जनमार्फत सम्बोधन गर्नुपर्ने विवादित विषयहरू नोट गरेर पठाउन अमेरिकी पक्षले भनेकाले नै नेपालले बुँदामा संशोधन गर्नुपर्ने विषयहरू समेटेर पत्र पठाएको प्रधानमन्त्री शेरबहादुर देउवा निकट स्रोतले बताएको छ।

पछिल्लो मन्त्रिपरिषद् बैठकमा समेत प्रधानमन्त्री देउवाले अमेरिकाले एमसीसीबारे राखेको चासोका विषयमा ब्रिफिङ गर्दै संशोधन गर्नुपर्ने विषयहरू पठाउन भनेअनुसार नेपाल पक्षले पत्र पठाएको बुझिएको छ।

स्रोतका अनुसार संशोधन गर्नुपर्ने र अस्पष्ट भएका विषयहरू एमसीसीका उपाध्यक्ष फातेमा जे सुमर र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स नेपाल भ्रमणमा आउनुअघि नै प्रष्ट पार्न भनेकाले सरकारले अमेरिकालाई पत्र पठाएको स्रोतले बतायो।

रातोपाटीका अनुसार यसअघि अमेरिकाले सम्झौता संशोधन हुँदैन भन्दै आएको थियो। तर, अहिले उसैले संशोधन गर्नुपर्ने विषयहरू खुलाउन भनेकाले ऊ संशोधनका लागि तयार भएको भन्ने सङ्केत मिलेको छ’, प्रधानमन्त्री देउवा निकट स्रोतले रातोपाटीसँग भन्यो, ‘एमसीसीका उपाध्यक्षको टोली नेपाल आएपछि यसबारे प्रष्ट हुन्छ।’