काठमाडौँ। अविलर वर्षातपछिको बाढीले काठमाडौँका खोला किनारका बस्ती नराम्रोसँग प्रभावित बनेका छन्।
गएरातीकाे वर्षातका कारण बल्खुको तरकारी बजार डुबानमा परेको छ। गाडीहरु पनि बाढीमा फसेका छन्। बाग्मती, विष्णुमति, इच्छुमति, धोबीखोला, बल्खुखोला, मनोहरा खोला, सामाखुशी खोलालगायतका नदीहरुमा बाढी आएको छ। उक्त बाढीले तटीय क्षेत्रका बस्तीहरु डुबाएको छ।
तीन सय ८२ घर डुबानमा
काठमाडौँमा बाढीका कारण तीन सय ८२ घर डुबानमा परेको प्रहरीले जनाएको छ। एक सय ३८ जनालाई प्रहरीले उद्धार गरेको छ। गएरातिदेखि परेको वर्षाका कारण खोला किनारका बस्ती डुबानमा परेका छन्। जोखिममा परेपछि प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा लगेर राखेको हो।
काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार बल्खुको तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र, कोटेश्वरको नरेफाँट क्षेत्र, बालाजुको नेपालटारको तल्लो क्षेत्र, शंखमुल पार्क, कालिमाटीको तरकारी बजार क्षेत्र डुबानमा परेका छन्। एसएसपी सिंहका अनुसार मानवीय क्षति भने भएको छैन।
बल्खु तरकारी बजार जलमग्न
गएरातिको बाढीले बल्खु तरकारी बजारमा करिब एक करोडको क्षति भएको अनुमान सञ्चालकले गरेका छन्। तरकारी बजार ध्वस्त भएको भन्दै तत्काल खुल्ने अवस्था नरहेको पनि सञ्चालकको भनाइ छ।
बल्खु तरकारी बजारका सन्चालक मोहन बस्नेत भन्छन्, ‘बजारमा प्रारम्भिक रुपमा एक करोड रुपैयाँको क्षति भएको अनुमान गरेका छौं। बजार ध्वस्त छ। तुरुन्तै सञ्चालनमा आउन सक्ने अवस्था छैन।’