भारतद्वारा नेपाल २-१ गोलले पराजित



काठमाडौँ। दोस्रो मैत्रीपूर्ण फुटबल खेलमा भारतद्वारा नेपाल २–१ गोलले पराजित भएको छ।

बिहीबार भएको मैत्रीपूर्ण खेल १–१ को बराबरीमा रोकेको नेपालले दोस्रो खेलमा हार ब्यहोरेको हो। भारतलाई जित दिलाउन ६३औं मिनेटमा फारुख चौधरी र ८० औं मिनेटमा कप्तान सुनील क्षेत्रीले गोल गरे।

नेपालका तेज तामाङले ८६औं मिनेटमा सान्त्वना गोल फर्काए। उक्त खेल हेर्नका लागि नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली दशरथ रंगशालामा पुगेका थिए। आइतबार अपरान्ह उनी फुटबल हेर्न दशरथ रंगशालामा पुगेका थिए।

सुनिलले शानदार गोल गरे

नेपाली मूलका भारतीय खेलाडी सुनिल क्षेत्रीले नेपालविरुद्ध आफ्नो करियरकै सुन्दर गोल गरे। नेपालविरुद्ध उनले गरेको यो पाँचौँ गोल हो। तर, दशरथ रङ्गशालामा उनले नेपालविरुद्ध गरेको यो पहिलो गोल हो।

मैत्रीपूर्ण खेलको ८० मिनेटमा गोल गर्दै भारतलाई २–० ले अघि बढाएका सुनिलले उक्त गोलको खुसीयाली भने मनाएनन्। जबकि उनले मैदानको मध्य भागबाटै बललाई अघि बढाएर निकै शानदार फिनिसिङ गरेका थिए।

सुनिलकी आमाले कुनै समय नेपालको महिला टोलीबाट खेलेकी थिइन्। सुनिलका हजुरबा नेपालको ताप्लेजुङ जिल्लाबाट बेलायती–भारतीय सैनिकमा भर्ती हुन गएका थिए।

तस्बिर: मुकुन्द कालिकोटे