मुख्यमन्त्री भीम आचार्यलाई ओली समूहबाटै असहयोग



काठमाडाैँ। माधव नेपाल समूह परित्याग गरेर केपी शर्मा ओलीको पक्षमा लागेका प्रदेश १ का मुख्यमन्त्री एवं नेकपा एमालेका सचिव भीम आचार्य अन्ततः ओली समूहबाटै कोपभाजनको शिकार बनेका छन्।

माधव नेपालको साथ छाडेर प्रदेश १ को मुख्यमन्त्री बनेका आचार्यलाई एमाले नेताहरुले नै ‘बहिस्करण’ मा पारेपछि उनको राजनीतिक भविश्यसमेत अन्योलमा परेको छ।

ओली समूहका नेता शेरधन राईलाई राजीनामा गराएर प्रदेश १ को मुख्यमन्त्री बनेका आचार्य यसअघि माधव नेपाल समूहमा आवद्ध थिए । बालकोटमा केपी ओलीसँग भएको छलफलमा आचार्यले आफूलाई शेरधनको ठाउँमा मुख्यमन्त्री बनाइए माधव नेपाल समूहका प्रदेश सांसदहरुलाई पनि एमालेमै फर्काउने र बहुमत जुटाउने ‘कमिटमेन्ट’ गरेका थिए।

एमालेलाई बहुमत जुटाइदिने आचार्यको प्रतिवद्धताका आधारमा केपी ओली उनलाई प्रदेश १ को मुख्यमन्त्री बनाउन तयार भएका थिए। र, यही सहमतिअनुरुप तेस्रो धारका नेता आचार्य प्रदेश १ को मुख्यमन्त्री बनेको एमाले नेताहरु बताउँछन् । मुख्यमन्त्री आचार्यले विश्वासको मत दिन बाँकी छ। तर, उनले बहुमत गुमाइसकेका छन्।

९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीलाई बहुमत जुटाउन ४७ सांसद चाहिन्छ। शेरधन राई मुख्यमन्त्री रहेका बेला एमालेसँग ५१ सांसद थिए। त्यसबेला माधव नेपाल समूहमा १८ सांसद खुलेका थिए। पार्टी फुट्ने अवस्थामा ४ जना सांसद मात्रै माधव नेपालतिर लाग्दा पनि शेरधनले बहुमत गुमाउने निश्चित थियो। तर, भीम आचार्यले आफूसँगै कम्तिमा १६ सांसद एमालेमा फर्काउने र बहुमत जुटाउने प्रतिवद्धता जनाएका थिए।

एमालेका ५१ सांसदमध्ये १० जनाले नयाँ पार्टीमा सनाखत गरिसकेपछि अब मुख्यमन्त्री आचार्यको पक्षमा एमालेको ४१ भोट मात्रै बचेको छ । जबकि बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ। यो अवस्थामा आचार्यको सरकार ढल्ने निश्चित भएको छ। आचार्य एमालेका नखुल्दासम्म माधव नेपालको पक्षमा १८ सांसद थिए। आचार्य एमालेतिर लागेपछि भने माधव पक्षका सांसदको संख्या घटेर १० मा झरेको छ। यसको अर्थ, आचार्यले आफूसहित माधव नेपाल पक्षका ७ जना सांसदलाई तेस्रोधारबाट एमालेमा फर्काएका छन्।

तर, ओली पक्षका नेताहरु भने शेरधन राई नै मुख्यमन्त्री रहेको भए आचार्यको भन्दा राम्रो पोजिसन बनाउन सकिने दाबी गर्छन्। ‘आचार्यले बालकोटमा जनाएको प्रतिवद्धता पूरा गर्न सक्नुभएन, प्रदेश १ का १० जना सांसदले माधव नेपालको एकीकृत समाजवादीमा सनाखत गरिसकेका छन्,’ ओली पक्षका एक नेताले रातोपाटीसँग भने, ‘बरु शेरधनलाई नै मुख्यमन्त्री बनाएको भए राजेन्द्र राई र राजन राई दुईजना बाहेक सबैलाई एमालेमै अड्याउन सकिन्थ्यो भन्ने हाम्रो समीक्षा छ।’

रातोपाटीका अनुसार केन्द्रबाट सीधै हस्तक्षेप गरेर शेरधनलाई हटाई भीम आचार्यलाई मुख्यमन्त्री बनाएको भन्दै प्रदेश १ को एमाले नेतृत्व असन्तुष्ट बनेको छ। मोरङका एमाले सांसद राजकुमार ओझा लगायतले आचार्यलाई विगतमा टिकट वितरणका बेला कार्यकर्तासँग ‘पैसा खाएको’ आरोप लगाउँदै आएका छन्। चुनावताका मिक्लाजुङ गाउँपालिकाको आर्थिक काण्ड अडियोसहित छताछुल्ल बनेको थियो।